नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ५ को क्षेत्रीय सम्मेलन, बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम शनिवार रुपन्देहीको सूर्यपुरामा सम्पन्न भएको छ ।
नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ५ को आयोजनामा भएको कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सार्वजनिक लेखा समितिका पूर्व सभापति भरतकुमार शाहले नेपालको पहिलो समस्या भनेको आर्थिक समस्या हो भन्दै देशको अवस्था कमजोर बन्दा नेपाली युवाहरु दशैंको मुखमा पनि हरेक दिन विदेश उडन बाध्य भैरहेको बताउनु भयो ।
उहाँले विगत तीन बर्षको कोरोना संकटका कारण देशको आर्थिक अवस्था कमजोर बनेको उल्लेख गर्दै अव सवै मिलेर मुलुकलाई आर्थिक संकटबाट पार लगाउनु पर्नेमा जोड दिनुभयो । उहाँले सरकारले मुलुकलाई आर्थिक संकटबाट मुक्त गराउन पहल गर्नुपर्नेमा जोड दिदै यही अवस्थामा कांग्रेस समेत सरकारमा रहेकोले मुलुकको समस्या समाधान गर्न नभए त्यसको प्रत्यक्ष असर कांग्रेसमाथि पर्ने बताउनु भयो । उहाँले नेपाली जनता नेपाली कांग्रेस पार्टीप्रति निरास हुने अवस्था आउन नदिन कांग्रेस समेत सहभागी वर्तमान सरकारको ध्यानाकर्षण गराउनु भयो ।



कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले नेपाली कांग्रेस मुलुकको सवैभन्दा ठूलो पार्टीमात्र नभै स्थानीय तह, प्रदेश र संघीय सरकारमा समेत कांग्रेस निर्णायक तहमा रहेकोले नेपाली कांग्रेसका जनप्रतिनिधिहरुले अहिले काम गरेर देखाउने समय आएको बताउनु भयो । उहाँले राज्यको तीनै तहमा कांग्रेसको भूमिका सशक्त रहेकोले यस्तो अवसर कांग्रेसलाई कहिल्यै नआउने बताउँदै अव जनताको काम कसरी गर्न सकिन्छ र सेवालाई प्रभावकारी कसरी बनाउने भन्ने बिषयमा गंभीर भएर छलफल गर्ने बेला आएको बताउनु भयो ।
त्यसैगरी नेपाली कांग्रेस लुम्बिनी प्रदेशसदस्य फकरुद्दीन खानले जनप्रतिनिधिहरु निर्वाचित भएको एक बर्ष भन्दा बढी समय भैसकेको बताउँदै अव हाम्रा जनप्रतिनिधिको कामको समीक्षा गर्ने बेला भएको उल्लेख गर्नुभयो । उहाँले रुपन्देही क्षेत्र नं. ५ का जनताले यस क्षेत्रका जनप्रतिनिधि चुनेर पठाएको एक बर्ष बढी समय हुँदा पनि जनताले आफ्ना जनप्रतिनिधिले के काम गरे भन्ने कुनैपनि कामको अनुभूति गर्न नपाएको बताउनु भयो ।
नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ५ का क्षेत्रीय सभापति वसिउल्लाह मुसलमानको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व शिक्षा मन्त्री वसिउद्दीन खान, कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकाल, नेपाली कांग्रेस सैनामैनाका सभापति रणबहादुर खनाल लगायतले बोल्नुभएको थियो । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ५ का सचिव कृष्णप्रसाद शर्माले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत उपाध्यक्ष गोपालबहादुर थापाले गर्नुभएको थियो ।





