पर्वतका मुकेश पौडेल ज्ञान प्राप्तिको लागि भन्दै रुपन्देहीको सैनामैना नगरपालिका १० मा रहेको कोठी जंगलमा विगत ३ दिनदेखि निराहार तपस्यामा बसेका छन ।
पर्वत जिल्लाको कुश्मा नगरपालिका ६ शिवालय चोकका मुकेश पौडेलले कोठी जंगलको बीच भागमा ठूलो रुख मुनी बसेर तपस्या सुरु गरेको दावी गरेका हुन ।
मुकेशले २० बर्ष अमेरिका बसेर स्वदेश फर्किएपछि गत बर्षदेखि विभिन्न जंगलमा तपस्या गर्दै आएको बताए ।
मुकेश दुई बर्षअघि चितवनको रामनगर जंगलमा एक महिना तपस्या बसेको पर्वतबाट उनका भाईले बताए ।
पछिल्लोपटक मुकेशले घरबाट ध्यान गर्न हिँडेको बताएको उनका भाईले फोनमार्फत शुक्रवार साझा टेलिभिजनलाई जानकारी दिएका छन ।
घर परिवारले जंगलमा भन्दा देवघाटमा गएर बस्न सल्लाह दिएपनि मुकेशले आफूलाई ध्यान बस्न समस्या हुन्छ भन्दै विभिन्न जंगलमा ध्यान बस्दै आएको बताए ।
पहिलेपनि जंगल गएर बस्ने र घर परिवारले मुकेशलाई घर फिर्ता ल्याउने क्रम चलिरहेको अवस्थामा मुकेश पछिल्लोपटक शुक्रवार कोठी जंगलमा फेला परेका हुन ।
शुक्रबार सैनामैनाका संचारकर्मी, प्रहरी लगायत स्थानीय जनप्रतिनिधि कोठी जंगल पुग्दा मुकेश ध्यान गरेरै बसिरहेको भेटिएका थिए । उनले विगत तीन दिनदेखि जंगलमा ध्यान गरेर बसेको बताए । विगत तीन दिनदेखि उनले पानी पनि नखाएर तपस्या बसेको बताए ।
उनले ज्ञान प्राप्तिका लागि आफू यस स्थानमा आएको बताउँदै ध्यान बसिरहेको यो स्थानलाई शान्तिमय बनाईदिन सैनामैनाबाट गएको टोलीसंग आग्रह गरे ।







