कार्तिक १०, काठमाडौँ ।
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान)को नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन भएको छ ।



डोल्माको नियुक्तिको विरोधमा सोमबार लुम्बिनी विकास कोष तथा गुम्बा विकास समिति बचाऊ संयुक्त समिति तथा तामाङ नागरिक समाजको अगुवाइमा माईतीघर मण्डलामा प्रदर्शन गरिएको हो ।
बौद्ध भिक्षुणी डोल्माले नागरिकता किर्ते गरेको तथा सम्पती शुद्धीकरणको मुद्दा विचाराधिन रहेको अवस्थामा सरकारले नियुक्त गरेको उनीहरुको आरोप छ ।
डोल्माको नियुक्ति खारेज गरी उनको नागरिकता तथा सम्पती शुद्धीकरणको मुद्दालाई यथाशिघ्र टुंगोमा पु¥याउनुपर्ने उनीहरुको माग छ । सरकारले प्रशासनिक क्षेत्रमा राजनीतिक नियुक्त गरिरहेको भन्दै उनीहरुले आपत्ति जनाए । नागरिकता नै विवादमा रहेको व्यक्तिलाई कोषको उपाध्यक्षमा नियुक्त गरिएको भन्दै डोल्माको नियुक्ति खारेज गर्न समेत माग गरे ।
तामाङ समुदायको प्रतिनिधित्व गर्नको लागि तामाङ नै हुनुपर्छ भन्ने आफूहरुको माग रहेको उनीहरुको भनाइ छ । भोलिको दिनमा डोल्मालाई समेत समस्या नहोस् र कोषको समेत हित होस् भनेर नै आफूहरु आन्दोलनमा आएको बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रश्तावमा गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले डोल्मालाई कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।




