बुटवल उपमहानगरपालिकाले सडकका छाडा चौपाया व्यवस्थापन सुरु गरेको छ ।
शुक्रबार बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयको नेतृत्वमा बुटवलका विभिन्न चोकबाट करिव चारसय छाडा चौपाया शिवनगरस्थित गौशालामा लगिएको छ ।
पहिलो चरणमा बुटवलका वडा नम्बर ३ देखि ११ सम्मका छाडा चौपायालाई गौशालामा लगिएको र व्यवस्थापनको काम शुरु भएको बुटवल नगर प्रमुख पाण्डेयले बताउनुभयो ।
उहाँले पहिलो दिन करिब चारसय गाई गोरु गौशालामा राखिएको र दैनिकरुपमा अभियान सञ्चालन गरेर सडकबाट गाई गोरु हटाउने बताउनुभयो ।
‘बुटवल सबैतिरको केन्द्रविन्दु भएकोले यहाँ अन्यत्रबाट धेरै गाईगोरु आउने गरेका छन्, उहाँले भन्नुभयो –अहिले हामीले बुटवलभित्र रहेका गाई गोरुको व्यवस्थापन गर्छौं, त्यसपछि हाम्रा मुख्य प्रवेश नाकाहरुमा निगरानी गर्ने र सहरभित्र गाई गोरु ल्याउन रोक्ने काम पनि गरिनेछ ।’
नगर प्रमुख पाण्डेयले सडकमा गाईगोरु देखेमा शिवनगर गौशालामा पु¥याउन वा उपमहानगरपालिका र वडा कार्यालयलाई खबर गर्न आग्रह गर्नुभयो । उहाँले सडकमा गाईगोरुको संख्या बढ्दै जाँदा दुर्घटना बढेको र असुरक्षित भएकाले अभियानकै रुपमा सञ्चालन गरेको बताउनुभयो ।
बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालले नगरलाई थप व्यवस्थित र सुन्दर बनाउन छाडा चौपाया व्यवस्थापन थालिएको बताउनुभयो ।
उहाँले यो अभियानमा सहभागी हुन बुटवलबासीलाई आह्वान गर्नुभयो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बुटवलको मुख्य चुनौतीका रुपमा रहेको छाडा चौपाया व्यवस्थापनको काम सुरु भएको र त्यसको व्यवस्थापनको लागि सबै तयारी भएको बताउनुभयो । उहाँले गौशालामा गाईगोरुका लागि दाना र परालको व्यवस्था गरी हेरालु समेत राखिएको बताउनुभयो ।
छाडा चौपाया व्यवस्थापनमा बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, नगरप्रहरी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, संघसंस्थाका प्रतिनिधिहरु तथा समुदायका अगुवाहरु सहभागी थिए ।
छाडा चौपायाका कारण दुर्घटना बढेको भन्दै चौपाया व्यवस्थापन गर्न बुटवल उपमहानगरलाई बुटवलका विभिन्न सामाजिक संघ संस्थाले दवाव दिदै आएका थिए ।







