बुटवल उपमहानगरपालिकाले स्वास्थ्य र शिक्षा, कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८१।०८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बुटवल उपमहानगरपालिकाको १४ औं नगरसभा अधिवेशनमा नगर प्रमुख खेलराज पाण्डेयले नीति तथा कार्यक्रम पेश गर्नुभएको हो ।
नीति तथा कार्यक्रममा बुटवलमा महिलाहरुलाई आत्मनिर्भर बनाउन गृहिणी महिला रोजगार कार्यक्रम सञ्चालन गर्ने, पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्दै बुटवललाई उपयुक्त विश्रामस्थलको रुपमा विकसित गर्ने, रात्रीकालीन बजार सञ्चालन गर्ने उल्लेख छ ।
त्यसैगरी आगामी आर्थिक बर्षलाई बुटवल भ्रमण बर्ष घोषणा गरिने भएको छ । घुमौं बुटवल अभियान अन्तरगत आर्थिक बर्ष २०८१÷८२ लाई भ्रमण बर्ष घोषणा गरिने बुधबार सार्वजनिक भएको नीति तथा कार्यक्रममा उल्लेख छ ।
नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न भ्रमण बर्ष सञ्चालन गरिने बताउनु भयो ।
पर्यटकीय स्थलहरूको पहिचानलाई व्यापक बनाउन आवश्यक स्थानमा डिजिटल डिस्प्ले र प्रचार सामाग्री निर्माण गरिने नीति तथा कार्यक्रममा भनिएको छ ।



‘समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल शहर’ भन्ने दीर्घकालीन सोंचलाई अगाडि सारेको बुटवलले बुटवलको मौलिक भाषा, संस्कृति र सम्पदाको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने, उज्यालो बुटवल, सफा, सुन्दर, हरियालीसहितको सुरक्षित र समुन्नत शहरको रुपमा विकास गर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रलाई मूख्य प्राथमिकतामा राख्दै कृषि, पर्यटन, रोजगार, उद्योग, व्यापारजस्ता क्षेत्रको समुन्नतिमा जोड दिने, आधुनिक सूचना तथा सञ्चार प्रविधिको उच्चतम उपयोग गरी शहरलाई जीवन्त बनाउने र सेवाप्रवाहलाई जनउत्तरदायी, पारदर्शी र सुशासनयुक्त बनाउने रणनीति अबलम्बन गरिने उल्लेख गरिएको छ ।
नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रमा सुधार ल्याउनका लागि नगरप्रमुख शैक्षिक विकास कार्यक्रम सञ्चालन गर्ने, सिद्धार्थ बाल तथा महिला अस्पतालमा पारामेडिकल, बुटवल टेक्निकल इन्स्टिच्युट (बीटीआइ)मा डिप्लोमा तहका इन्जिनियरिङ विषयहरु र अटो भिलेजमा स्नातकमा तहको अटो इन्जिनियरिङको अध्ययन शुरु गर्ने नीति बुटवलले ल्याएको छ ।
नगर प्रमुख पाण्डेयले बुटवलको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि स्वास्थ्य उपचार र जनशक्ति उत्पादनमा जोड दिएको बताउनु भएको छ । यस्तै, बुटवल १३ र १७ मा १५।१५ सैयाका अस्पताल सञ्चालन गर्ने र वडा नम्बर १३ को अस्पतालमा अस्पतालमा चौबिसै घण्टा आकस्मिक सेवा सञ्चालन गर्ने उहाँले बताउनुभयो ।
बुटवलबासीको उपचारका क्रममा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थको शुल्क हटाउने, जेष्ठ नागरिकको घरमै पुगेर उपचार गर्न बाआमासँग नगरप्रमुख कार्यक्रम ल्याएको प्रमुख पाण्डेयले बताउनुभयो ।




