बुटवल उपमहानगरपालिकाको १५ औ अधिवेशन बजेट, विभिन्न ऐन संसोधन र विधेयक पारित गर्दै सकिएको छ । असार ५ गते शुरु भएको १५ औ अधिवेशनले नगर प्रहरी ऐन बनाएको छ भने छाडा चौपाया व्यवस्थापन र नियन्त्रणसम्बन्धी ऐन, पशु बधशाला सञ्चालन र व्यवस्थापन ऐन, जलश्रोत उपयोग ऐन, कृषि व्यवसाय प्रवर्द्धन ऐन, सहकारी ऐन, शिक्षा ऐन संसोधन गरेको छ ।
बुटवलको नगर सभाले लोकसेवा आयोगबाट नगर प्रहरीको भर्ना लिने गरी नगर प्रहरी ऐन बनाएको छ । यस्तै अन्य ऐनहरु आवश्यकता र जनचाहना बमोजिम संसोधन गरेको नगर प्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।



शुक्रबारको नगर सभाको चौथो बैठकले चालु आर्थिक वर्षका कार्यपालिकाका बैठकका निर्णय अनुमोदन गर्दै न्यायिक समिति, लेखा समिति, अनुगमन समिति, आचारसंहिता अनुगमन समिति, जाँचपास तथा फरफारक समिति, विधायन समिति, सुशासन समितिको वार्षिक प्रतिवेदन पारित गरेको छ ।
बैठकले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक छलफलसहित सर्वसम्मतिले पारित गरेको छ । जेठ ९ गतेको बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले २ अर्ब ९९ करोड २२ लाख बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो । बुटवलले आगामी आर्थिक वर्षमा आन्तरिक श्रोतबाट ८५ करोड राजस्व संकलन गर्ने अनुमान गरेको छ ।
बजेटमा उल्लेख भएअनुसार बुटवलले आगामी आर्थिक वर्षमा वडा नम्बर १३ र १७ मा निर्माण सम्पन्न भएका अस्पताल सञ्चालन गर्ने गरी बजेट ल्याएको छ ।
यस्तै, बुटवलले निजी तथा सार्वजनिक क्षेत्रसँग सहकार्य गरी सार्वजनिक निजी साझेदारी कार्यक्रममार्फत् बुटवल ११ मा १ सय बेडको अस्पताल स्थापनाका लागि ५ करोड रुपैयाँ छुट्याएको छ ।
मुख्य राजमार्ग, भित्री सडकहरु सौन्दर्यीकरण, ट्राफिक लाईट तथा भित्री सडक र गल्लीहरुमा स्मार्ट स्ट्रिट लाईट जडान गर्ने कार्यक्रमले निरन्तरता पाएका छन् ।




