बुटवल उपमहानगरपालिका वडा नं. १२ नयाँगाउँमा रहेको मुक्तिनाथ धामप्रति दर्शनार्थी भक्तजनहरुको आस्था र विश्वास बढ्दै गएको छ । त्यसैपनि हरेक दिन यहाँ विभिन्न स्थानबाट दर्शनार्थीहरु मुक्तिनाथ धाम भगवानको दर्शन गर्न आउने गरेका छन । मुक्तिनाथ भगवानसंगै अरु देवी देवताको दर्शन पनि हुने भएकोले मुक्तिनाथ धाममा धर्मावलम्बीहरुको घुँइचो लाग्ने गरेको छ ।
धामका प्रमु्ख संरक्षक १००८ ब्रम्हनिष्ठ स्वामी लोकानन्द महाराजले मुक्तिनाथ धामको दर्शन गर्नाले भक्तजनले राखेका मनोकामना पूरा हुने बताउनु भयो । उहाँले प्रत्येक सोमबार र शनिवार भगवानको दिब्य श्रृंगार आरतीगर्ने गरिएको बताउँदै यस पबित्र काममा स्थानीय आमा समूह, दर्शनार्थी र भक्तजनले समेत सघाउ पु¥याउने गरेको र धामको महिमा अझै बढ्दै गएको बताउनुभयो ।
मुक्तिनाथ धाममा समेत यो बर्ष साउन ६ गते गुरु पूर्णिमादेखि भदौ ३ गते जनैपूर्णिमासम्म एक महिने श्रावणी मेलाको आयोजना गरिएको छ ।
अहिले साउन महिना भएकोले पनि यस क्षेत्रमा श्रद्धालु भक्तजनको ठूलो भीड लाग्ने गरेको छ । मुक्तिनाथ धाम भगवानको दर्शनमात्रै गर्नाले पनि मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ ।







