लुम्बिनी केबलकार प्रालि बुटवलले साउन महिनादेखि भदौ महिनाभरी श्रद्धालु भक्तजनको लागि मर्निङ अफर ल्याएको छ ।
साउन र भदौ महिनामा कामाख्या माताको दर्शनका लागि केबलकारले विहान साढे आठ बजेदेखि दिउँसो बाह्र बजेसम्मको टिकट खरिदमा ५० प्रतिशत छुटपाउने गरि मर्निङ अफरको सुविधा दिएको हो ।
श्रद्धालु भक्तजनहरुले साउन र भदौ महिनाको सोमबार मात्र पाँचसयमा केबलकारले उपलब्ध गराएको छुटमा माता कामाख्यादेवी मन्दिरको दर्शन गर्न पाउने अफर ल्याएको हो ।
यसैवीच साउने सोमबार लुम्बिनी केबलकारको यात्रा गरि कामाख्या देबीको दर्शन गर्ने श्रद्धालुभक्तजनको अत्याधिक भीड लाग्ने गरेको छ ।
कामाख्या माताको दर्शन गर्न आउने श्रद्धालु भक्तजनले पनि कामाख्या माताप्रतिको आस्था र विश्वासका कारण दर्शन गर्न आउने गरेको बताएका छन ।
बुटवलबाट आएकी कोपिला अधिकारी र शंकरनगरबाट आउनु भएका पदमप्रसाद ज्ञवालीले मनोकामना पूरा हुने विश्वासमा माता कामाख्यादेवीको दर्शन गर्न लुम्बिनी केबलकार चढेर आएको बताउनुभयो ।



मन्दिरका मूल पुजारी सुरेश पौडलेले माता कामाख्या देवीको बिषयमा प्रकाश पार्दै माता कामाख्या देबी सति देवीको अंग पतन भएर उत्पत्ति हुनुभएको देबी रहेको बताउँदै कामाख्या माताको दर्शन गर्नाले मात्रै पनि आफूले चाहेको मनोकांक्षा पूरा हुने बताउनु भयो ।
उहाँले कामाख्या देवी भनेको मनको इच्छा चाहना परिपूर्ति गर्ने, बैबाहिक सम्बन्ध राम्रो नभएको, छोरा छोरी नभएकाहरुले कामाख्यादेवीको दर्शन गर्नाले दाम्पत्य जीवन सुखमय हुने र छोरा छोरी नभएकोहरुलाई सन्तान प्राप्ति हुने जनविश्वास रहेको बताउनुभयो ।
कामाख्या माताको दर्शन गर्नेहरु हरेक दिन बढिरहेका छन । लुम्बिनी केबलकारले श्रद्धालु भक्तजनको लागि मात्र होइन विभिन्न चाडपर्वको अवसरमा समेत केबलकारको टिकटमा छुटको अफर दिदै आएको छ ।




