नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले केन्द्र सरकारले प्रदेशलाई अधिकार प्रत्यायोजन नगर्दा संघीयतामाथि नै प्रश्न उठेको बताउनु भएको छ ।
उहाँले संघीयता कार्यान्वयनमा राजनीतिक नेतृत्व इमानदार नहुँदा संघीयताको औचित्यमाथी प्रश्न उठ्न थालेको बताउनु भएको हो ।
प्रदेशलाई दिनुपर्ने अधिकार नदिदा सरकारले काम गर्न नसकेको भन्दै उहाँले प्रदेशलाई अधिकार सम्पन्न गराउनुको सट्टा अंकुश लगाउने काम भएकोमा चिन्ता प्रकट गर्नुभयो ।



नेपाल प्रेस युनियन रूपन्देहीद्वारा सोमबार बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभापति पुनले राजनीतिक नेतृत्व कर्मचारी प्रशासनमा रहेको केन्द्रीकृत मानसिकताका कारण जनताले संघीयताको अनुभुति गर्न नपाएको धारणा राख्नुभयो ।
स्थानीय तहका जनता तथा कार्यकर्ताको भावना र समस्या बुझ्न आफुले सभापतिसँग पालिका सम्वाद कार्यक्रम लिएर स्थानीय स्तरमा पुगेको भन्दै अध्यक्ष पुनले त्यसक्रममा जनस्तरबाट पनि संघीयताको अनुभूति गर्न नपाएको गुनासो आएको बताउनुभयो ।
नेपाली कांग्रेस मात्रै नभएर सबै पार्टीका केन्द्रीय नेतृत्वमा रहेका नेता तथा कर्मचारी संयन्त्रले संघलाई नै बलियो बनाउने तर्फ लागेको भन्दै उहाँले राजनीतिक नेतृत्वले केन्द्रिकृत मानसिकता त्यागेर जनताका आवश्यकता र माहरू सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।
जनताको लामो संघर्ष र बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्र आएको स्मरण गर्दै सभापति पुनले भन्नुभयो– “कि संघीयताको मर्म र भावना अनुसार चल्नुपर्छ संघीयता आवश्यक छैन भने खारेज गरिदिए हुन्छ ।”
प्रदेश सरकारका मन्त्री छनोट पनि केन्द्रबाटै गर्ने हो भने संघीयताको कुनै अर्थ नहुने उहाँको भनाइ छ । देश संकटमा परेका बेला कांग्रेस एमाले एक ठाउँमा उभिने गरेको स्मरण गर्दै सभापति पुनले अहिलेपनि मुलुक संकटमा परेकाले दुई दल मिलेर अन्य दललाई समेत मिलाएर अगाडि बढेको उल्लेख गर्नुभयो ।
राजनीतिक स्थायित्व र मुलुकको समृद्धिका लागि दुई ठूला दल मिलेको भन्दै सभापति पुनले बर्तमान सरकारलाई फलानाले गर्न दिएन भनेर उम्किने छुट नभएको बताउनुभयो ।
न्यायालयलाई प्रभाव पार्नेगरी प्रदर्शन गर्नु गलत भएको भन्दै उहाँले कुनै दल बिशेषलाई केन्द्रमा राखेर दल बिभाजन अध्यादेश ल्याउनुभन्दा समस्या छन् भने सबैलाई सधैं काम लाग्नेगरी ऐन ल्याउन सरकारलाई सुझाव दिनुभयो ।




