बुटवल उपमहानगरपालिकाले बुटवलका मुख्य चोक र बजार क्षेत्रमा सिसि क्यामेरा जडान गरेको छ । उपमहानगरपालिकाले वडा नं. ४, ५, ७ र ८ का मुख्य स्थानहरुमा १२५ वटा सिसि क्यामेरा जडान गरेको हो । बुटवलको बसपार्क, मिलनचोक, हस्पिटललाईन , नेपालगञ्ज रोड, ट्राफिक चोक,पाल्पा बसपार्क, गोलपार्क क्षेत्रमा सिसि क्यामेरा जडान गरेको उपमहानगरपालिकाले जनाएको छ ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले आईटी शाखामा सिसि क्यामेराको उद्घाटन गर्दै उपमहामनगर र वडाहरुको संयुक्त बजेटमा क्यामेरा जडान गरिएको बताउनु भयो ।
मुख्य बजार क्षेत्रमा क्यामेरा जडान गरिएको र अरु वडामा पनि आवश्यकता अनुसार सिसि क्यामेरा जडानको तयारी गरिएको उहाँले बताउनुभयो । ईलाका प्रहरी कार्यालय बुटवलबाट नियमित अनुगमन हुने गरी ब्यवस्था मिलाईएको मेयर पाण्डेयले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेश राजमार्ग सुरक्षा तथा सवारी ब्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले अपराध नियन्त्रण तथा बजार क्षेत्रलाई ब्यवस्थित बनाउनको लागि सिसि क्यामेरा सहयोगि हुने बताउनु भयो ।
सडकमा गुड्ने सवारीदेखि अपराध अनुसन्धानमा समेत सिसि क्यामेराबाट सहयोग मिल्ने उहाँले बताउनु भयो ।
बुलेट, ह्वाईट, पिटिजुसहितका ४ मेगा फिक्चरको आईटी क्यामेरा जडान गरिएको उपमहानगरपालिकाका उपनिर्देशक रोशनकुमार रेग्मीले जानकारी दिनुभयो ।
यसको अनुगमन उपमहानगरपालिकाको आईटी शाखा र प्रहरी कार्यालयबाट हुने गरी ब्यवस्था मिलाईएको उहाँले बताउनु भयो ।







