११ औं संस्करणको ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’ को उपाधि न्यु होराइजन माविले जितेको छ । मंगलबार भएको फाइनल खेलमा देबदह बुद्ध माविलाई ५ विकेटले पराजित गर्दै होराइजनले उपाधि हात पारेको हो । जितसँगै होराइजने ५० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
यस्तै, उपविजेतामा चित्त बुझाएको देवदह बुद्धले नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको फाइनल खेलमा जितका लागि पाएको ७१ रनको लक्ष्य न्यु होराइजनले १९ ओभर १ बलमा ५ विकेटको नोक्सानीमा ७६ रन बनाउँदै पुरा गर्दै उपाधि रक्षा गर्यो ।



यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको देवदह बुद्धले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ७० रनको सामान्य योगफल बनाएको थियो । उसलाई सस्तैमा रोक्न बलिङमा न्यु होराइजनका निरज घिमिरे र राहुल नाउले ३–३ तथा अनिश भट्टराई, सुप्रिम कँडेल र प्रिन्स पालले १–१ विकेट लिए ।
प्रतियोगितामा न्यु होराइजनका प्रिन्स पाल म्यान अफ द सिरिज भई १० हजार रुपैयाँ प्राप्त गरे । यस्तै, होराइजनकै राहुल नाउ बेष्ट ब्याटर र सुप्रिम कँडेल बेष्ट बलर भए । उनीहरुले जनही ५ हजार रुपैयाँ पाए । प्रतियोगितामा कुँवरवर्ती इङ्गलिस बोर्डिङ स्कूल बेष्ट अनुशासित टिम घोषित भयो ।




