बुटवल उपमहानगरपालिकाको सोह्रौं नगर सभा शुरु भएको छ । बुधबार शुरु भएको सभामा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई अब्बल नगर बनाउनका लागि हरेक क्षेत्रको समानुपातिक विकासमा जोड दिएको बताउनुभयो ।
उहाँले जनतासँग गरेका वाचाहरु पूरा गर्नका लागि सबै जनप्रतिनिधिहरु एकसाथ अगाडि बढिरहेको बताउँदै नगरको विकासमा कुनैपनि कमी हुन नदिने प्रतिबद्धता जनाउँदै सबैको साथ जरुरी रहेकोमा जोड दिनुभयो ।



नगर सभाको बुधबारको बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले बुटवल उपमहानगरपालिकाको आर्थिक ऐन २०८१ संसोधनको प्रस्ताव टेबुल गर्नुभयो । सामाजिक विकास समितिका संयोजक प्रदीप कुमार श्रेष्ठले छाडा चौपाया व्यवस्थापन र नियन्त्रण गौशाला सञ्चालन ऐन संसोधन प्रस्ताव टेबुल गर्नुभयो ।
यस्तै विधेयक समितिका संयोजक नरेन्द्र बस्नेतले नगर प्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रम सञ्चालन विधेयक, मेयर युवा रोजगार प्रवद्र्धन कार्यक्रम सञ्चालन विधेयक र करारमा कर्मचारी व्यवस्थापन गर्नेसम्बन्धि विधेयक टेबुल गर्नुभयो । बुधबार शुरु भएको नगर सभा बैठक यही पुस २९ गतेसम्मका लागि स्थगित भएको छ ।
यसैगरी बुटवल उपमहानगरपालिकाले नगर गान तयार गरेको छ । खुला प्रतिस्पर्धाबाट नगर गान छनोट गरी नगर कार्यपालिका बैठकबाट पारित गर्दै नगर सभाबाट अनुमोदन गरिएको हो । १४ जनाले पेश गरेका नगर गानमध्ये बुटवलका डिल्लीनारायण पाण्डेले रचना गरेको नगर गान उत्कृष्ट भएको हो । सोही नगरगान बुधबारको नगर सभाले अनुमोदन गर्दै प्रचलनमा ल्याएको नगर प्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।
नगर गानमा बुटवलको ऐतिहासिकता, कला संस्कृति र समावेशी विषयहरु समावेश छन् ।




