आज १४ फेब्रुअरी अर्थात् प्रणय दिवस । आजको दिनलाई ‘भ्यालेन्टाइन डे’ को रूपमा विश्वभरका युवायुवती तथा प्रेमी प्रेमिकाहरूले प्रेम व्यक्त गर्ने दिनका रूपमा मनाउँछन् ।
नेपालमा भने प्रेमी पे्रमिकाहरू आफ्नो साचो प्रेम व्यक्त गर्न प्रेमको प्रतीक पाल्पाको रानीमहल दरबारमा पुग्ने गर्छन् ।
राणाकालीन समयदेखि नै पाल्पाको रानीमहल दरबार प्रेमको प्रतीकको रूपमा परिचित छ । प्रणय दिवसको अवसरमा नवजोडी तथा प्रेमी प्रेमिकाको लागि पाल्पाको रानीमहल दरबार आकर्षणको केन्द्र बनेको छ । आजको दिन आफूलाई मन परेका व्यक्ति र माया गर्नेलाई रातो गुलाफ, चकलेट र विभिन्न उपहार दिने चलन छ ।
रोमका एक शासकले सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको विश्वास गरिन्छ । भ्यालेन्टाइन डे आउनु एक हप्ता अघिदेखि नै सप्ताहव्यापी रूपमा यो दिवस मनाउने गरिन्छ ।



विशेषगरी आजको दिन पाल्पाको ऐतिहासिक तथा पर्यटकीयस्थल रानीमहलमा भीडभाड लाग्ने गर्छ । तत्कालीन जनरल खड्ग शमशेरले आफ्नी रानी ‘तेजकुमारी’ को सम्झनामा बनाएको रानीमहललाई प्रेमको प्रतीकका रूपमा लिने गरिन्छ । काली गण्डकीको किनारमा रहेको रानीमहल पाल्पाको सदरमुकाम तानसेनदेखि १३ किलोमिटर उत्तरमा पर्छ ।




