कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) रूपन्देहीले बुटवलमा यही फागुन २६ र २७ गते बिजनेस कस्टमर समिट २०२५ आयोजना गर्ने भएको छ । मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरेर क्यानले ब्रान्ड लक्षित कार्यक्रमलाई यो प्रदशर्नीमा ध्यान दिएको जनाएको छ ।
आइटिको चासो राख्नेलाई जतिसक्दो सहभागी गराउने लक्ष्य रहेको तर यसमा आर्थिक कारोबारको कुनै लक्ष्य नरहेको क्यान रुपन्देहीका अध्यक्ष जीवन अधिकारीले बताउनुभयो । क्यान महासंघका केन्द्रीय सदस्य तथा रुपन्देहीका पूर्व अध्यक्ष नारायणप्रसाद श्रेष्ठले नयाँ प्रविधि के हो ? भन्ने विषयमा नयाँ कन्सेप्ट लिएर कार्यक्रम गर्न लागेकोले सबैलाई सहभागिताका लागि आग्रह गर्नुभयो ।



अवलोकनकर्तालाई निःशुल्क प्रवेश दिइने र विश्व बजारका प्रविधिको विषयमा जानकारी दिने मुख्य उदेश्य रहेको पूर्व अध्यक्ष श्रेष्ठले बताउनुभयो । क्यान लुम्बिनी प्रदेश अध्यक्ष नारायण खनालले आइटी पढ्ने, सूचना प्रविधिमा चासो राख्ने र यसको नीति बनाउनेलाई सहभागी गराउने मुख्य लक्ष्य रहेको बताउनुभयो । उहाँले प्रदेशका सबै जिल्ला केन्द्रीकृत रहेर यस्ता कार्यक्रममा ध्यान दिइएको जनाउनुभयो ।
क्यान महासंघ रुपन्देहीका सचिव सुरेशचन्द्र भट्टराईले कार्यक्रमको सन्चालन गर्दै आइटी सम्बन्धि अध्ययन गरेका विद्यार्थी र व्यवसायीहरुलाई लक्षित हुनेगरी बुटवलमा यो कार्यक्रम सुरु गरिएको र करिब ५ हजारले अवलोकन गर्ने अपेक्षा गरिएको बताउनुभयो




