हरेक बर्ष जस्तै यो बर्ष पनि विहिवार काठमाण्डौं सहित हिमाली र पहाडी जिल्लामा फागु अर्थात होली पर्व धुमधामका साथ खेलिएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सदभावनाको सन्देश लिई आउने फागु पर्व विहिवार हर्षोल्लासका साथ खेलिएको छ ।
हिरण्यकशिपुले बहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रल्हादसहित पस्न लगाउँदा होलिका भष्म भएकी र भक्त प्रल्हाद भने सकुशल निस्केको प्रसङ्ग पुराणहरुमा उल्लेख छ ।



शक्तिको दुरुपयोग गर्ने होलिका मारिएको भन्दै होलिका दहन अर्थात चीरदाह गरेर आपसमा रङ्ग, अबीर लगाएर खुशीयाली मनाएर होली खेल्ने परम्पराको शुरूवात भएको मानिन्छ ।
काठमाण्डौमा उपत्यकासहित पहाडी र हिमाली भेगमा विहीबार बिहानैदेखि एकआपसमा रङ खेली फागुपूर्णिमा अर्थात् होली पर्व मनाउनेको विशेष चहलपहल थियो ।
पछिल्लोसमय होली सभ्य बन्दै गएको छ । यसरी होली पर्व मनाउनेले अनुमतिविना अरूलाई रङ दलिदिने र पानी खन्याइदिने गरेको दृश्य भने विरलै भेटिन थालेको छ ।
केही वर्षअघिसम्म होलीका दिन घरबाहिर निस्कनेलाई बाल्टीका बाल्टी पानी खन्याइन्थ्यो । जबरजस्ती अबिरलगायत रङ दलेर मानिस नचिनिने गरी रङ्ग्याइन्थ्यो । रङ र पानी मिलाएर घोलिएको रासायनिक पदार्थ छ्यापिन्थ्यो ।
पछिल्लो केही वर्षदेखि सांस्कृतिक शहर काठमाण्डौमा फागुपूर्णिमा अर्थात् होली पर्व अनुशासित भइरहेको देखिन थालेको छ ।




