रुपन्देहीको औद्योगिक तथा आर्थिक केन्द्र बुटवलमा अन्तर्राष्ट्रिय स्तरको पाँचतारे होटल ‘ह्यात प्लेस’ औपचारिक रुपमा सञ्चालनमा आएको छ । विश्वभर ४२० भन्दा बढी स्थानमा फैलिएको यो ब्रान्डले अब लुम्बिनी प्रदेशमै आफ्नो सेवा विस्तार गरेको हो ।
सन् २००६ मा सुरु भएको ह्यात प्लेस ब्रान्डले ‘क्याजुअल कम्फर्ट’ अर्थात् सहज र आधुनिक बसाइको अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । बुटवलस्थित होटलमा पाहुनाहरूका लागि सुत्न, काम गर्न र मनोरञ्जन गर्न छुट्टाछुट्टै स्थानको व्यवस्था गरिएको छ । यो ‘व्यावसायिक केन्द्रित’ भए पनि परिवारमैत्री होटलको रूपमा समेत डिजाइन गरिएको हाेटल सञ्चालक तथा अध्यक्ष चुन्नप्रसाद पाैडेलले बताउनु भयाे ।

याे हाेटल बुटवल उपमहानगरपालिका वडा नं. ८ मा ओैद्याेगिक प्रदर्शनी स्थल तथा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रकाे अगाडि २५ कठ्ठा क्षेत्रफलमा निर्माण गरिएको हो । करिब पाँच वर्ष अवधिमा सम्पन्न यो परियोजनामा ग्लोबल आइएइ बैंक लिमिटेड र होटल स्याफोन सि.के. को संयुक्त लगानी रहेको सञ्चालक पाैडेलले जानकारी गराउनु भयाे । हाेटल ओैपचारिक रुपमा सञ्चालन गरिएकाे आईतबार साँझ पत्रकार सम्मेलन गरि जानकारी गराईएकाे हाे । कुल ३५० करोड रुपैयाँ लगानी रहेको यो होटलले पूर्ण सञ्चालनमा आएपछि अधिकतम ३५० जनालाई रोजगारी दिनेछ । राेजगारीमा स्थानीयलाई प्राथमिकता दिइने छ ।



ह्यात प्लेस बुटवलमा एकैपटक २५० जनाले आवासीय सेवा लिन सक्नेछन् । होटलमा आधुनिक डिजाईनका १०९ वटा कोठा छन्, जसमा स्ट्यान्डर्ड, फरेस्ट भ्यू, हिल भ्यू, बाल्कनी र प्रेसिडेन्सियल सुइट्स जस्ता विकल्प उपलब्ध छन् । पाहुनाका लागि ‘ह्यात ग्रान्ड बेड’, ‘आरामदायी कार्यस्थल’, ‘कोजी स्लीपर’, र ‘मनोरञ्जन क्षेत्र’को समेत व्यवस्था गरिएको छ ।
होटलको दोस्रो तलामा जिङ्ग रेष्टुरेन्ट छ । याे रेष्टुरेन्टमा अन्तर्राष्ट्रिय स्वादका परिकार उपलब्ध छन् । ‘थकुर्ली सोफ्ट्स’ र ‘केफुर्ली सर्भ’ जस्ता विशेष परिकारले बुटवल आउने पर्यटकहरूलाई आकर्षित गर्ने विश्वास गरिएकाे उहाँले बताउनु भयाे । होटल परिसरमा स्विमिङ पुल, फिटनेस जिम, ‘स्पा’ र ‘योगा जोन’ पनि छ ।
निकट भविष्यमा होटलभित्र क्यासिनो सञ्चालन गर्ने तयारी भइरहेको सञ्चालक पाैडेलले बताउनु भयाे । जसले भारतीय तथा विदेशी पर्यटकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
होटल बुटवलको मुटु सुक्खानगरस्थित कुसुम पथमा अवस्थित छ। यहाँबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) करिब २५ किलोमिटर, लुम्बिनी ४६ किलोमिटर र भारतको सुनौली नाका २८ किलोमिटर दूरीमा छन् । गोरखपुर विमानस्थल पनि करिब ३ घण्टा ३० मिनेटको यात्रामा सहजै पुगिन्छ । होटलले व्यावसायिक बैठक, विवाह र सम्मेलनका लागि १ हजार १ सय वर्गमिटर क्षेत्रफलमा फैलिएको ‘ग्रान्ड हल’ र ‘मिटिङ स्पेस’ समेत निर्माण गरेको छ ।
होटलले निर्माण चरणमै सामाजिक उत्तरदायित्व अन्तर्गत ३ सय मिटर सडक (कुसुम पथको पश्चिम भाग) पिच र सौन्दर्यकरण गर्न ४० लाख रुपैयाँ लगानी गरेको जनाएको छ । साथै भविष्यमा पनि होटलको आम्दानीको केही अंश सामाजिक उत्तरदायित्व कार्यक्रमहरूमा लगानी गर्ने प्रतिबद्धता गरिएको छ ।
ह्यात प्लेस बुटवलले नेपालकै पहाडी सौन्दर्य र सांस्कृतिक भावना समेट्दै विश्वस्तरको आतिथ्य सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । भगवान गाैतम बुद्धको जन्मस्थल लुम्बिनी, सिद्धार्थनगर, मणिमुकुन्द सेन पार्क र जगदिशपुर ताल जस्ता प्रमुख गन्तव्य नजिक भएकाले यो होटलले रुपन्देहीको पर्यटन विकासमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएकाे छ




