दोस्रो लुम्बिनी क्लासिक राष्ट्रिय डेडलिफ्टमा सैनामैनाकी सर्मिलाले प्रतिस्पर्धा गर्नेयही पुष ४ र ५ गते बुटवलमा आयोजना हुन लागेको “दोस्रो लुम्बिनी क्लासिक राष्ट्रिय डेडलिफ्ट प्रतियोगिता–२०२५” मा सैनामैना नगरपालिकाकी सर्मिला गुप्ताले सहभागिता जनाउने भएकी छिन् । सैनामैना वडा नं. ३ निवासी गुप्ताले यस प्रतिष्ठित राष्ट्रिय प्रतियोगितामा सैनामैनाको प्रतिनिधित्व गर्दै आफ्नो प्रतिभा प्रदर्शन गर्नेछिन् ।
प्रतियोगिताका लागि गुप्ताको टिम म्यानेजरमा फिटनेस टाइम मुर्गियाका सञ्चालक कृष्ण श्रेष्ठ र प्रशिक्षक (कोच) मा अशोक राना रहेका छन् ।



खेल क्षेत्रमा महिलाहरूको सहभागिता न्यून रहने गरेको अवस्थामा सैनामैनाबाट सर्मिला गुप्ताको सहभागितालाई स्थानीय खेलप्रेमीहरूले उत्साहका साथ हेरेका छन् ।
टिम म्यानेजर कृष्ण श्रेष्ठले सैनामैनाका महिलाहरू पनि खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन सक्षम छन् भन्ने सन्देश दिन यो सहभागिता महत्वपूर्ण रहेको बताए । उनले भने, “हाम्रो मुख्य उद्देश्य यस क्षेत्रका महिलाहरूलाई खेलकुदमा अगाडि बढाउनु र सैनामैनाका महिलाहरू कुनै पनि खेलमा अब्बल छन् भन्ने सन्देश देशभर फैलाउनु हो ।”
पावर लिफ्टिङका विभिन्न तीन विधाहरू मध्ये एक मानिने ‘डेडलिफ्ट’ शक्ति र सन्तुलनको खेल हो । यस प्रतियोगितामा देशभरका पावरलिफ्टरहरूको उत्साहजनक सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा विभिन्न उमेर तथा तौल समूहका गरी कुल १० वटा विधामा प्रतिस्पर्धा हुनेछ ।

एक्टीभ जिम एण्ड फिटनेश, बुटवलको आयोजना तथा लाइफका लागि फिजिकल फिट्नेस, तिलोत्तमा र अशोक फिट्नेसको सहआयोजनामा हुन लागेको प्रतियोगिताको संरक्षकमा राष्ट्रिय खेलकुद परिषद, लुम्बिनी प्रदेश खेलकुद परिषद, बुटवल उपमहानगरपालिका तथा नेपाल पावरलिफ्टिङ एशोशियसन र नेपाल खेलकुद महासंघको सहकार्य रहेको छ ।




