सैनामैना, रुपन्देही
सैनामैना होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ, रुपन्देहीले महाशिवरात्री पर्व २०८२ को पावन अवसरमा प्रसिद्ध धार्मिक स्थल पर्रोहा परमेश्वर बोलबम धाममा विविध सामाजिक कार्यक्रम सम्पन्न गरेको छ। संघले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मन्दिर परिसरमा सरसफाई तथा दर्शनार्थीहरूका लागि प्रसाद वितरण कार्यक्रम आयोजना गरेको हो।



बिहानैदेखि श्रद्धालुहरूको घुइँचो लागेको बोलबम धाममा संघका पदाधिकारी तथा सदस्यहरूले मन्दिर परिसरलाई स्वच्छ राख्न सरसफाई अभियान चलाएका थिए। सरसफाई पश्चात शिवजीको प्रिय प्रसादका रूपमा परिचित हलुवा, फलफूल लगायतका सामग्रीहरू दर्शनार्थीहरूलाई वितरण गरिएको थियो।
कार्यक्रममा बोल्दै सैनामैना होटल तथा रेष्टुरेण्ट व्यवसायी संघकी अध्यक्ष माया केसीले व्यवसायिक हकहितका लागि मात्र नभई सामाजिक सेवाका काममा पनि संघ उत्तिकै जिम्मेवार रहेको बताउनुभयो। उहाँले भन्नुभयो “हामीले महाशिवरात्रीको अवसरमा प्रसाद वितरण र सरसफाई कार्यक्रम आयोजना गरेर संघको सामाजिक उत्तरदायित्व बोध गरेका छौँ। मन्दिरमा आएका भक्तजनहरूको सेवा गर्न पाउनु र उहाँहरूको माया तथा श्रद्धा पाउनु हाम्रा लागि गर्वको कुरा हो। यस्ता धार्मिक पर्वहरूले हामीलाई सामाजिक कार्यमा लाग्न थप ऊर्जा र उत्साह प्रदान गर्दछन्। यो प्रसाद वितरण तथा सरसफाई कार्यक्रम संघकी अध्यक्ष माया केसीकै व्यक्तिगत सौजन्यमा सम्पन्न भएको हो।
कार्यक्रमलाई व्यवस्थित बनाउन संघका महासचिब नवराज पन्थीले संयोजकको भूमिका निर्वाह गर्नुभएको थियो। पन्थीका अनुसार मन्दिरमा आएका हजारौँ भक्तजनहरूलाई सहज रूपमा प्रसाद ग्रहण गर्ने व्यवस्था मिलाइएको थियो।
सैनामैना होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ विगतदेखि नै यस्ता परोपकारी कार्यमा सक्रिय रहँदै आएको छ। संघले यसअघि पनि विभिन्न समयमा रक्तदान जीवनदान , स्थानीय विद्यालयका गरिब तथा विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा छात्रवृत्ति सहयोग वातावरण संरक्षण र स्थानीय पर्यटन प्रवर्द्धनका गतिविधिहरू गर्दै आएको छ।
आजको कार्यक्रममा संघका कार्यसमिति सदस्यहरू, स्थानीय व्यवसायी र समाजसेवीहरूको बाक्लो उपस्थिति रहेको थियो। पवित्र धाममा गरिएको यो सेवाले स्थानीय स्तरमा संघको सकारात्मक चर्चा चुलिएको छ।




