सैनामैना नगरपालिकाले नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले सूचना तथा सञ्चार प्रविधि (आईसिटी) सामग्री वितरण गरेको छ ।
प्रविधिको प्रयोगमार्फत शिक्षण सिकाइलाई प्रभावकारी, आधुनिक र कक्षाकोठालाई सहज बनाउन नगरपालिकाले कुल १ करोड ६० लाख रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरेको हो ।
नगरपालिकाले नगरभित्रका १७ वटा सामुदायिक विद्यालयलाई आवश्यकताका आधारमा ५३ थान स्मार्टबोर्ड, २८ थान डेस्कटप कम्प्युटर, १० थान ल्यापटप र ११ थान ’थ्री–इन–वान’ प्रिन्टर प्रदान गरेको शिक्षा शाखा सहायक गणेश खनालले जानाकारी दिनुभयो ।
सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्मा, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनी तथा शिक्षा शाखा प्रमुख टिकाराम शर्माले संयुक्त रूपमा सम्बद्ध विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरूलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।

सामग्री हस्तान्तरण गर्दै नगर प्रमुख फणेन्द्रप्रसाद शर्माले प्रविधिको उच्चतम प्रयोग गरी सामुदायिक विद्यालयको पठनपाठनलाई प्रविधिमैत्री र सिकाइलाई थप प्रभावकारी बनाउन आईसिटी सामाग्रीले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
उपप्रमुख विना रानाले आधुनिक युग अनुसार शिक्षामा प्रविधिको पहुँँच विस्तार गर्दै लैजाने नगरको नीति अनुरुप सामग्री वितरण गरिएको बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले विद्यालयहरूमा प्रविधिको पहुँच विस्तार भएसँगै यसको सही र अधिकतम सदुपयोग हुनुपर्नेमा जोड दिनुभयो ।




शिक्षा शाखा प्रमुख टिकाराम शर्माले परम्परागत शिक्षण शैलीलाई विस्थापित गर्दै आधुनिक प्रविधिको माध्यमबाट विद्यार्थीहरूको सिकाइ क्षमता अभिवृद्धि गर्न नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले आईसिटी सामग्रीको प्रयोगबाट कक्षाकोठामा बालमैत्री वातावरण निर्माण हुने बताउनु भयो




