रुपन्देहीको सैनामैना नगरपालिकाले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ४० लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
नगरपालिकाको भदौ १५ गते बसेको कार्यपालिका बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो भने बाँकी रकम जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकहरूको सेवा–सुविधाबाट कट्टा गरी संकलन गरिने जनाएको छ ।
नगरपालिकाका अनुसार माध्यमिक प्रथम श्रेणीका शिक्षकबाट १० दिन, अधिकृतस्तरका कर्मचारी तथा सो सरहका शिक्षकबाट ७ दिन, सहायकस्तरका कर्मचारी तथा निम्न माध्यमिक र प्राथमिक तहका शिक्षकबाट ५ दिन र निजी स्रोतका शिक्षक, विद्यालय कर्मचारी तथा बाल विकास सहजकर्ताबाट २ दिन बराबरको तलब कट्टा गरिनेछ ।



बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले रकम उपलब्ध गराउन लागिएको नगरपालिकाले जनाएको छ । साथै, विपद्को अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले भदौ महिनाभर सैनामैना क्षेत्रमा मेला, उत्सव, जात्रा तथा मनोरञ्जनात्मक र भड्किला कार्यक्रम नगर्न समेत आग्रह गरेको छ ।




