२१ भदौ,रुपन्देही
रुपन्देहीको सैनामैना नगरपालिकाले सर्वसाधारण नागरिकलाई स्थानीय सरकारको तर्फबाट सहज र सुलभ सेवा प्रदान गर्ने उद्देश्यले नागरिकता प्रमाणपत्रको सिफारिस पूर्णरूपमा निःशुल्क गरेको छ ।
नगरपालिकाले गत साउन १ गतेदेखि लागू हुनेगरी नयाँ नागरिकता लिने सेवाग्राहीलाई सेवा शुल्क निशुल्क गरेको हो ।
यसअघि नयाँ नागरिकता सिफारिसमा एकसय रुपैयाँ सेवा शुल्क लिने व्यवस्था रहेको थियो ।
तर, प्रतिलिपि नागरिकताको सिफारिसमा भने सेवा शुल्क लिने व्यवस्था रहेको सैनामैना नगरपालिका ११ का वडा अध्यक्ष रामप्रसाद भुसालले जानकारी दिनुभयो । उहाँले नयाँ नागरिकता बनाउने सेवाग्राहीले सैनामैना नगरपालिकाको कुनैपनि वडामा सेवा शुल्क तिर्नु नपर्ने बताउनुभयो ।
वडा अध्यक्ष भुसालले यसअघि नै कृषि, शिक्षा र स्वास्थ्य सम्वन्धि सिफारिसमा समेत कुनैपनि शुल्क नलाग्ने व्यवस्था रहेको जानकारी दिनुभयो । कृषि अनुदानको सिफारिस, विभिन्न विद्यालयले माग्ने सिफारिस तथा स्वास्थ्य सम्वन्धि नगरपालिकाले दिने विभिन्न सिफारिसमा सेवाग्राही व्यक्ति र संस्थाले पनि शुल्क तिर्नुपर्दैन ।
यसैगरी सैनामैना नगरपालिकाले सेवाग्राहीलाई सहज र सुलभरुपमा सेवा प्रदान गर्ने उद्देश्यले नगरबासीलाई रगत आवश्यक परे कुनैपनि शुल्क नलाग्ने व्यवस्था गरिसकेको छ । त्यसैगरी सुत्केरी तथा ८० बर्षमाथिका जेष्ठ नागरिकले एम्बुलेन्सको सेवा लिँदा समेत कुनैपनि शुल्क तिर्नु नपर्ने सैनामैना नगरपालिकाले जनाएको छ ।







