भाद्र २७, २०८३
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालबाहिर सडकपेटीमा सुत्केरी भएको घटनामा एक चिकित्सकसहित ६ जनालाई कामकाजबाट हटाइएको छ।
अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जितकुमार झाका अनुसार छानबिन समितिहरूको प्रतिवेदन सार्वजनिक नहुँदासम्मका लागि उनीहरूलाई कामबाट हटाइएको हो।



कारबाहीमा पर्नेमा चिकित्सक डा. उषा देव, स्टाफ नर्स मनीषाकुमारी साह र सजन चौधरी तथा कार्यालय सहयोगी रेणु ठाकुर, स्वीपर कृष्णा मेहतर र सुरक्षा गार्ड देवकान्त झा छन्।
अस्पतालमा रगत परीक्षणका लागि १२ सय रुपैयाँ नपुगेपछि बबिताकुमारी पासवान अस्पतालछेउकै सडकपेटीमा सुत्केरी भएको घटना सार्वजनिक भएको थियो।
घटनाबारे अस्पताल, जिल्ला प्रशासन, स्वास्थ्य मन्त्रालय र नेपाल मेडिकल काउन्सिलले छुट्टाछुट्टै छानबिन गरिरहेका छन्। यसैबीच ‘गाइने वार्ड’को जिम्मेवारीमा रहेका इन्चार्जलाई कारबाही नगरिएको भन्दै अस्पताल प्रशासनको आलोचना भइरहेको छ।




