१८ असोज,सैनामैना नगरपालिका
सैनामैना नगरपालिका–८ रामापुरमा रहेको आदर्श बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१औँ वार्षिक साधारणसभा तथा स्मारिका विमोचन कार्यक्रम शनिबार सम्पन्न भएको छ।



कार्यक्रममा बोल्दै साधारणसभाका प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्वभौतिक पूर्वाधारमन्त्री भूमिश्वर ढकालले सहकारीसँग पैसा हुँदा पनि कानुनी अभावका कारण चाहेको क्षेत्रमा लगानी गर्न समस्या रहेको बताउनुभयो। उहाँले आगामी दिनमा उत्पादन तथा उद्योगको क्षेत्रमा लगानी गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो। सहकारीसम्बन्धी कानुनी झन्झट हटाउँदै सहकारीलाई लगानीयोग्य बनाउनुपर्ने उहाँको भनाइ थियो।
सैनामैना नगरपालिकाका प्रमुख फणिन्द्रप्रसाद शर्माले आदर्श बचत तथा ऋण सहकारीले राम्रो प्रगति गरेको भन्दै खुसी व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि संस्थाले थप प्रगति गर्दै जान सकोस् भन्दै शुभकामना दिनुभयो।
कार्यक्रममा जनसेवा बहुउद्देश्यीय सहकारीका अध्यक्ष धर्मागत बस्याल, सहकारीका सल्लाहकार दयालाल पन्थ तथा शेयर सदस्य विष्णुप्रसाद पाण्डेलगायतले सहकारीको सेवालाई थप प्रभावकारी बनाउन आगामी दिनमा अझ धेरै काम गर्नुपर्नेमा जोड दिनुभएको थियो।
संस्थाका अध्यक्ष लेखनाथ पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बुद्धिराम भण्डारीले स्वागत गर्नुभएको थियो भने सञ्चालन सचिव शोभाखर पाण्डेले गर्नुभएको थियो।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंक, जिल्ला सहकारी संघ, सहकारी दर्ता अधिकारीको कार्यालय, सैनामैना नगरपालिका सहकारी विभागलगायत विभिन्न संघ–संस्था तथा सहकारी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
साधारणसभामा संस्थाको आगामी नीति, योजना तथा कार्यक्रमबारे छलफल गर्दै सहकारीलाई थप प्रभावकारी र सदस्यकेन्द्रित बनाउने विषयमा जोड दिइएको छ।




