LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

जलवायु परिवर्तनको असर मनाङमा पनि पर्न थालेको छ । विगत वर्षहरुमा कात्तिक पहिलो साता नै बेँसी झर्ने भेडा–च्याङ्ग्रा तथा चौंरी गोठ यस वर्ष मंसिर लागेपछि बेँसी झर्न थालेका हुन् ।

चिसो बढ्दै जाँदा लेकमा घाँस सुकेर अभाव हुने भएकाले विस्तारै लेकबाट बेँसीतर्फ गोठ सार्ने काम सुरु भएको छ । जेठ महिनादेखि अग्ला लेकमा लगिएका भेडा–च्याङ्ग्रा र चौंरी गोठ गोठालाहरुले चाडपर्व सकिएसँगै बेँसीतर्फ झारिरहेका छन् । चिसो बढेसँगै लेकका खर्क पनि खाली हुँदैआएको छ ।

मनाङ ङिस्याङ गाउँपालिका –६ केरकिनमा चौंरी तथा भेडा–च्याङ्ग्रा पाल्दैआएका सगर गुरुङले ३ हजार ६ सय मिटर उचाइको लेकबाट हिउँ पर्न थालेपछि पशु झर्न थालिएको बताउनुभयो । मनाङकै ङिस्याङ –८ जुलुमा ३७ परिवारले सामूहिक रूपमा भेडा–च्याङ्ग्रापालन गर्दैआएका छन् ।

जुलुका भेडा–च्याङ्ग्रा तथा चौंरी गोठ पनि बेँसीगाउँ आसपासको बेँसीतिर झारिएको गुरुङले बताउनुभयो । चिसो बढ्दै जाँदा घाँस सुकेर अभाव हुने भएकाले लेकबाट गोठ बेँसीतर्फ सार्न सुरु भएको उहाँले बताउनुभयो ।

व्यावसायिक रूपमा पशुपालनलाई सरकारले चासो नदिएकोमा गुरुङको गुनासो छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले पनि चासो नदेखाएको उहाँले बताउनुभयो । गुरुङले भन्नुभयो, ‘गत वर्ष विभिन्न रोगले २२ चौंरी र ५५ च्याङ्ग्रा मरेका थिए, तर कतैबाट पनि सहयोग पाइएन ।’

गत वर्ष हिमपहिरामा परी २ सय ५० भन्दा बढी भेडा–च्याङ्ग्रा तथा चौंरी मरेको सुनाउँदै उहाँले भन्नुभयो, ‘अहिले त झन् हिउँचितुवाले पनि सताएको छ ।’

ङिस्याङकै अर्का चौंरी पशुपालक याङ्दुङ गुरुङले पहिलेको तुलनामा अहिले हिउँचितुवाले बढी सताउनेगरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिले चौंरी र भेडा–च्याङ्ग्रा धेरै थिए । हिजोआज चाहिँ पाल्नेक्रम कम भएको छ । अझ हिउँचितुवाको आक्रमण बढ्दा समस्या थपिएको छ ।’ साना बाच्छाबाच्छी जोगाउनै मुस्किल हुनेगरेको गुनासो गर्दै गुरुङले भन्नुभयो, ‘हिउँचितुवाले आक्रमण गर्दा कति बाच्छाबाच्छी जोगाउनै मुस्किल छ । कहिले त कति बेला खायो नै थाहा हुँदैन ।’ राहतका लागि झन्झट छ । राहतको ५–१० हजार लिन आउँदा जाँदा विभिन्न कागजात बनाउँदा २५ देखि ३० हजार खर्च हुनेगरेको उहाँको गुनासो छ ।

गुरुङले भन्नुभयो, ‘पहिलेजस्तो घाँस हुँदैन । घाँस अभावले अहिले झन्झन् माथिल्लो लेकबाट गोठ सार्नुपरेको छ । समयमा हिउँ नपर्दा घाँसको समस्या हुँदैगएको हो ।’ मौसमलाई हामीले मिलाउन नसकिने हुँदा किसानले सास्ती भोग्दैआएको उहाँले बताउनुभयो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका प्रमुख नरेन्द्र राइले भेडाच्याङ्ग्रा, चौंरी लेकमा गोठ हुने हुँदा झन्झटिलो प्रक्रियाले समस्या भएको बताउनुभयो । यहाँका स्थानीयलाई राहत र सरकारबाट हुने सेवाका लागि सचेतनाका काम भने गरिरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय