बुटवलका मासु व्यवसायीहरुले बुटवल उपमहानगरपालिकाले मुक्तिनाथ लाईभस्टक बैंकसंग ठेक्का सम्झौता गरी सञ्चालनमा ल्याएको बधशाला नजाने घोषणा गरेका छन् । बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी मासु व्यवसायीहरुले बधशालामा नजाने घोषणा गरेका हुन ।
बुटवल उपमहानरपालिकाले खसी बोका अनिवार्य रुपमा पशु बधशालामा बध गरेको मात्रै प्रयोग गर्न कडाई गरेपछि मासु व्यवसायीहरुले पहिला आफूहरुको पहलमा उद्यमी महिला तथा मासु व्यवसायीहरुको साझा पहलमा सम्झौता गरेको बधशाला नियतवस अन्य नीजि कम्पनीलाई दिएको भन्दै बधशाला बहिस्कार गर्ने घोषणा गरेका हुन ।
मासु व्यवसायी संघ रुपन्देहीका अध्यक्ष विशाल थापाले बुटवल उपमहानरपालिकाले हेफर ईन्टरनेशनलको प्राविधिक सहयोगमा प्रदेश सरकार र बुटवल उपमहानरपालिकाको लगानीमा स्थापना भएको बधशालालाई मासु व्यवसायीहरुको सहभागीता विना चलाउन दिने कारण नै षडयन्त्र भएको बताउनुभयो ।



उहाँले ३५ हजार भन्दा बढि महिला उद्यमी सहकारी मार्फत ४ वटा ईन्भेष्टमेन्ट कम्पनीको लगानीमा रहेको बुटवल मासु उत्पादन तथा प्रसोधन उद्योग लिमिटेडलाई बधशाला संचालन गर्न दिने गरी परियोजनाको मनासयपत्र नगरपालिकाले आह्वान गरे अनुसार बुटवल मासु उत्पादन तथा प्रसोधन प्रालिका अध्यक्ष सहित सञ्चालकहरुको समेत सहभागीतामा बार्षिक रुपमा ४७ लाख ३९ हजार रुपैयाँमा बधशाला सञ्चालन गर्ने निर्णय समेत गरेकोमा बुटवल उपमहानगरले त्यो निर्णय लत्याएको बताउनु भयो ।
यसरी व्यवासायी, किसान, महिला उद्यमी समुहको विचमा गरेको सम्झौता भन्दा विपरित नयाँ टेन्डर आह्वान गरेपछि अहिले मुक्तीनाथ लाईभस्टक बैंकले बुटवलको बधशाला सञ्चालन गरिरहेको छ । यसरी पहिला सम्झौता गरेको व्यवसायीको संस्थाको रद्द गरी अर्को कम्पनीलाई टेन्डर दिएपछि व्यवसायीहरुले सुरु देखि नै यसको विरोध गर्दै आएका थिए ।
व्यवसायीहरुलाई व्यवसाय गर्न नपाउने अवस्था सृजना गरेको बुटवल मासु उत्पादन तथा प्रसोधन उद्योग प्रालिका अध्यक्ष समेत रहेका मासु व्यवसायी कृष्ण प्रसाद पौडेलले बताउनुभयो ।
उहाँले अहिले व्यवसायीहरुलाई अनिवार्यरुपमा मुक्तीनाथ संग मात्रै किन्नुपर्ने सर्त अगाडी सारेर बुटवल उपमहानरपालिकाले सिन्डीकेट लागु गरेको आरोप पौडेलको छ ।
उद्यमी महिला ईन्भेष्टमेन्ट प्रालिका अध्यक्ष तथा महिला सहकारी उद्यमी संस्थाका संयोजक होमादेवी पौडेलले प्रदेश भित्र रहेका ३५ हजार भन्दा बढि महिला सदस्यहरुलाई नगरपालिकाले बधशालामा लगानी र सहभागी हुनबाट रोकेर लात हान्ने काम गरेको बताउनुभयो ।




