बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले बुटवलमा सञ्चालन गर्ने औद्योगिक व्यापार मेलाको लागि अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल बुटवल मण्डपमा सचिवालय स्थापना गरेको छ । मेला सम्बन्धि सबै गतिविधि मेला स्थलबाटै गर्नेगरी सचिवालय स्थापना गरिएको कार्यसम्पादन समितिका सचिव, मेलाका प्रवक्ता तथा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराउनु भयो ।
‘लगानी लुम्बिनीमाः समृद्धि देशमा’ भन्ने नारा सहित संघले आगामी पुस ३ देखि १८ गतेसम्म अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल बुटवल मण्डपमा औद्योगिक व्यापार मेलाको तयारी गरेको छ ।



यो मेलालाई अहिलेसम्म भएका मेला भन्दा धेरै फरक बनाउने गरी तयारी गरिएको र त्यसको लागि कार्यसम्पादन समितिका पदाधिकारी, सदस्य तथा विषयगत समितिका संयोजकहरु लागि परेको कार्यसम्पादन समितिका संयोजक तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बताउनु भयो ।
त्यसैगरी मेलाको उद्देश्य अनुसार बस्तुको प्रदर्शनीलाई समेत ध्यानमा राखेर गुणस्तरीय बस्तुको प्रदर्शनी तथा विक्री वितरण गर्नेगरी स्टल बुकिङ खुला गरिएको कार्यसम्पादन समितिका उपसंयोजक तथा स्टल बुकिङ समितिका समन्वयकर्ता सुरज भट्टराईले जानकारी गराउनु भयो ।
उहाँका अनुसार मेलामा ईनडोर ४४३ स्टल रहने छन् भने होटल रेष्टुरेन्ट, अटोमोवाईल्सका करिव ३० स्टल आउटडोरमा रहने छन् । हालसम्म २ सय बढी स्टल सम्पर्कमा आईसकेको पनि उहाँले जानकारी गराउनु भयो ।




