नेपाली कांग्रेसले स्थगन गरेको १०० दिने विशेष अभियान पुनः सुरु गरेको जनाएको छ ।
कांग्रेस पाल्पलो अभियानका बारेमा जानकारी दिन बुधबार आयोजना गरेको पत्रकार भेटमा यो अभियान फागुन ७ गतेसम्म सञ्चालन गरिने जानकारी दिइएको हो ।
गत असोज ६ गते सुरु गरेको अभियान वर्षातका कारण स्थगन गरिएको थियो । अभियानका लागि जिल्लामा केन्द्रीय प्रतिनिधिका रुपमा केन्द्रीय सदस्य भरतकुमार शाह खटिनु भएको छ ।
उहाँले काँग्रेसका पूर्णकालीन कार्यकर्ता नराख्ने र पार्टीले १२ महिना नै कार्यकर्ता खटाउन नसक्ने भएकाले विभिन्न पेशा व्यवसायमा संलग्न रहेर पनि पार्टीलाई सहयोग गर्दै आएकाले पनि अहिलेसम्म पार्टी संचालन भइरहेको बताउनुभयो । यससँगै अभियानका क्रममा आम जनताका गुनासो सुनेर केन्द्रीय समितिमा प्रतिवेदनका रुपमा पेस गरिने केन्द्रीय सदस्य शाहले जानकारी दिनुभयो ।




केन्द्रीय प्रतिनिधिका रुपमा खटिनु भएका शाहको उपस्थितिमा पाल्पाका १० स्थानीय तहका साथै ८१ वटै वडामा विभिन्न कार्यक्रम आयोजना गरी अभियान सञ्चालन गर्न लागिएको नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले बताउनुभयो ।
जिल्लाले १० वटै पालिका र ८१ वटै वडामा महाधिवेशन, महासमिति सदस्य, प्रदेश समितिका सदस्य र जिल्ला कार्यसमितिका सदस्यलाई प्रतिनिधिका रुपमा खटाइएको सभापति श्रेष्ठले जानकारी दिनुभयो ।

खटाइएका प्रतिनिधिले सबै वडा तहमा बैठक राखेर अभियानको सुरुवात गर्नेगरी कार्ययोजना बनेको छ ।
जनताका गुनासोसँगै पार्टीले प्राथमिकताका आधारमा गर्नुपर्ने कामको रुपरेखा तयार गर्न सहज हुने विश्वास लिइएको छ ।
कांग्रेस सरकारमा रहेको अवस्थामा अहिलेको गठबन्धनलाई आम जनताको बुझाइ र भ्रम भए त्यसलाई चिर्न अभियान सफल हुने विश्वास पार्टीको रहेको कांग्रेसका जिल्ला सचिव सन्तोषकुमार थापाले बताउनुभयो ।




