बुटवलमा चैत ८ र ९ गते दोश्रो लुम्बिनी मिडिया सम्मेलन २०८१ हुने भएको छ । मिडिया सम्मेलनमा सञ्चार माध्यमहरुका समस्या र चुनौती पहिल्याउँदै अवसर र सम्भावनाको खोजी गर्ने लक्ष्य राखिएको छ ।
प्रकाशन तथा प्रसारण संघ लुम्बिनीले आयोजना गर्न लागेको मिडिया सम्मेलन उदघाटन समारोहपछि सातवटा सत्रमा विभाजन गरी कार्यक्रम अगाडि बढाइने संघका अध्यक्ष नवराज कुँवरले जानकारी दिनुभयो ।
मिडिया सम्मेलनबारे जानकारी दिन बुधबार विहान बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा संघका अध्यक्ष कुँवरले सुरुमा उदघाटन सत्र हुने र त्यसलगत्तै दोस्रो सत्रमा ‘परम्परागत मिडियाः आजको अवस्था, भोलिको बाटो’ विषयमा छलफल गरिने जानकारी दिनुभयो ।



त्यस्तै तेस्रो सत्रमा छापा माध्यम, किन र कसका लागि ? भन्ने विषयमा छलफल हुने छ भने सम्मेलनको चौथो सत्रमा के अनलाइन पत्रकारिता सधैका लागि हो ? भन्ने विषयमा छलफल गरिने छ । त्यसैगरी पाँचौ सत्रमा किन फस्टाउन सकेन विज्ञापन बजार ? भन्ने विषयमा छलफल हुने छ ।
त्यसैगरी छैठौं सत्रमा अनेक संस्थाः नियमन कि नियन्त्रण ? भन्ने विषयमा छलफल हुने छ भने सम्मेलनको सातौं सत्रमा ‘सम्बन्धः पत्रकार र पत्रकार महासंघकोः के भयो ? के हुँदैछ ?” भन्ने विषयमा छलफल हुने बताइएको छ ।
संघका अध्यक्ष कुँवरले सम्मेलनमा कार्यक्रम र बहस तथा छलफलका लागि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, अन्नपूर्ण मिडिया नेटवर्कका रामेश्वर थापा, आर्थिक अभियान दैनिकका प्रधान सम्पादक मदन लम्साल र सौर्य दैनिकका प्रधान सम्पादक बोधराज त्रिपाठी, अनलाइन खवरका धर्मराज भुसाल र बाह्रखरी मिडियाका प्रतिक प्रधान तथा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल लगायतले कार्यपत्रका साथै प्रस्तुती राख्ने कार्यक्रम तय भएको छ ।




