सनातन गौ संरक्षण अभियान युएईको आयोजनामा “सनातन धर्ममा गौ” को महत्व शीर्षकमा आयोजित भर्चुअल वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । यो कार्यक्रमको मुख्य उद्देश्य सनातन संस्कारमा गौ को संरक्षण तथा गुरुकुल परम्पराको जगेर्ना गर्नुरहेको आयोजकको भनाई छ ।
प्रतियोगितामा वाग गुरुकुलम् गौरीघाट काठमाडौकी आंचल वस्यालले प्रथम स्थान
हासिल गरेकी छिन भने रुपन्देहीको सैनामैनामा रहेको सैनामैना पर्रोहा परमेश्वर नमूना माध्यमिक विद्यालयकी छात्रा दर्शना ज्ञवालीले द्वितीय स्थान हासिल गरेकी छिन । त्यसैगरी गण्डकी बोर्डिङ स्कूल पोखराका अभिषेक खनालले तृतीय स्थान हासिल गरेका छन ।



प्रतियोगितामा सान्त्वना पुरस्कार पाउनेहरुमा पूजा न्यौपाने बुद्ध आदर्श मावि, झापा, सुम्निमा भण्डारी राष्ट्रिय सरस्वती मावि, बर्दिवास, महोत्तरी, रचना भट्टराई नारायणी गण्डकी साधारण तथा संस्कृत मावि, बलप्रसाद भट्टराई महर्षि गुरुकुलम् वेद विद्याश्रम र मञ्जिला तिमिल्सिना सैनिक आवासीय मावि चैनपुर चितवन रहेका छन ।
वक्तृत्वकलामा प्रथम हुनेले १५ हजार द्वितीयलाई ११ हजार र तृतीय हुनेलाई ७ हजार तथा सान्त्वना पुरस्कार स्वरूप पाँचजना विद्यार्थीलाई १०००।– का दरले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ ।
यसैबीच द्वितीय पुरस्कार पाउने सैनामैना पर्रोहा परमेश्वर नमूना माध्यमिक विद्यालयकी छात्रा दर्शना ज्ञवालीलाई पुरस्कार प्रदान गर्न मंगलबार आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथी साझा टेलिभिजनका प्रवन्ध निर्देशक भुवन जिसीले अवको नयाँ युवा पुस्तालाई गाईको महत्व बुझाउँदै जन्मदिने आमा र गाईपनि आमा समान हुन्छन भन्ने कुरा विद्यार्थी भाई बहिनीहरुलाई सन्देश दिनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
त्यसैगरी पुरस्कार वितरण समारोहमा बोल्दै सैनामैना पर्रोहा परमेश्वर नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक नेत्रलाल पुरीले छात्रा दर्शना ज्ञवालीले यसअघि पनि यस्तै प्रतियोगिताहरुमा पटक पटक पदक तथा पुरस्कार प्राप्त गर्दै आएको बताउँदै यो राष्ट्रिय स्तरको भर्चुअल बक्तृत्वकला प्रतियोगितामा पनि दोश्रो स्थानमा आउन सफल भएकोमा दर्शनालाई बधाई दिदै थप सफलताको शुभकामना दिनुभयो ।

प्रतियोगितामा ४० जना विद्यार्थीको सहभागीता रहेको थियो । पुरस्कार लिन आउन असमर्थ विजेता प्रतियोगीहरुलाई पुरस्कार रकम बैंकमार्फत पठाइएको छ ।
कार्यक्रम संस्थाका अध्यक्ष सागर दाहालको अध्यक्षतामा भएको थियो भने प्रमुख आतिथ्यता अन्तर्राष्ट्रिय आध्यात्मिक व्यक्तित्व डा.योगी चिन्तामणीनाथ गुरुजीको रहेको थियो ।
कार्यक्रमको संयोजन संस्थाकी संरक्षक पार्वता सिग्देलले गर्नुभएको थियो भने संचालन संस्थापक सदस्य गोपाल पराजुलीले गर्नुभएको थियो ।
कार्यक्रमको प्रारम्भमा संस्थाकी सचिव सुनिता शर्माले स्वागत गीत प्रस्तुत गर्दै सहभागीहरूलाई स्वागत गर्नुभएको थियो ।
निर्णायक समितिका संयोजक डा. तुलसीराम खनालले प्रतियोगिता बारेका नियम र मूल्याङ्कनका आधारहरू स्पष्ट गर्नुभएको थियो ।




