११ असोज,
कालिगण्डकी नदीको बहाव बढेपछि गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ स्थित रिडीको तटीय क्षेत्र डुबानमा परेको छ । नदीले जल सतह पार गरेपछि रिडी लामाचौपारी र बजार आसपासका संरचनासहित कालिगण्डकी करिडोरसमेत डुबाएको छ ।



नदीको पानी बगर हुँदै बजार आसपाससम्म पुगेपछि रिडी बगरमा निर्माण गरिएका पल्चा, मन्दिर, घाटलगायतका संरचना डुबेका छन् । रुरुक्षेत्र–१ का रिडी व्यवसायी रविलाल पन्थका अनुसार नदीको बहाव बढेसँगै तटीय क्षेत्रमा जोखिमसमेत बढेको छ । स्थानीयवासीलाई नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान र आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।





