बुटवल, असोज २४ गते ।
लुम्बिनी प्रदेशभरिको ठुलो सरकारी अस्पतालका रूपमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार सेवा र पूर्वाधार विस्तार हुँदै गए पनि जनशक्ति अभाव देखिएको छ । स्वीकृत दरबन्दी अनुसार स्थायी कर्मचारी पदपूर्ति नहुँदा अस्पतालले करार, अस्थायी तथा अन्य वैकल्पिक व्यवस्थाबाट जनशक्ति जुटाएर जेनतेन सेवा सञ्चालन गरिरहेको छ ।



अस्पतालको स्वीकृत दरबन्दी ३७२ जनाको रहेकोमा स्थायी पदपूर्ति २०४ जना मात्र छन् । मेडिकल सुपरिन्टेन्डेन्ट डा. विष्णु गौतमले अस्पतालको दैनिक सेवा सञ्चालनका लागि एक हजार २२ जना जनशक्ति कार्यरत रहेको बताउनुभयो । उहाँका अनुसार बिरामीको चाप र सेवा विस्तारसँगै जनशक्तिको आवश्यकता बढे पनि स्थायी दरबन्दी अनुसार पदपूर्ति हुन सकेको छैन ।
अस्पतालमा आठौँ तहका मेडिकल अधिकृतका लागि ४७ पद स्वीकृत रहेकामा १७ जना मात्रै स्थायी छन् । करार तथा अन्य व्यवस्थासमेत गरी ९१ जना मेडिकल अधिकृत कार्यरत छन् । त्यसै गरी १२१ स्वीकृत दरबन्दी रहेको नर्सिङ सेवामा ८३ जना स्थायी छन् भने अस्थायी, करार र छात्रवृत्तिसमेत गरी ३३० जना कार्यरत छन् । डा. गौतमले अस्पतालमा रहेका २५६ जना सहयोगी कर्मचारीमध्ये स्थायी पदपूर्ति चार जनाको मात्रै रहेको बताउनुभयो ।
जनशक्ति अभाव भए पनि अस्पतालले सेवा विस्तारलाई निरन्तरता दिँदै आएको छ । सरकारीतर्फ तीन सय र विकास समितितर्फ एक सय गरी चार सय शय्याको स्वीकृति रहे पनि हाल ५१५ शय्या सञ्चालनमा छन् । आर्थिक वर्ष २०७७/७८ मा ५६ प्रतिशत रहेको शय्या उपयोग दर आव २०८२/८३ मा ९३ प्रतिशत पुगेको अस्पतालको तथ्याङ्क छ । यस अवधिमा प्रयोगशाला परीक्षणको चापसमेत उल्लेख्य बढेको छ । आव २०७७/७८ मा दैनिक औसत ८१० प्रयोगशाला परीक्षण हुने गरेकोमा आव २०८२/८३ मा छ हजार ३२१ पुगेको छ । दैनिक एक्सरेलगायत रेडियोग्राफीको परीक्षण १०६ बाट बढेर ४३२ पुगेको छ । अस्पतालको न्यूनतम सेवा मापदण्ड (एमएसएस) मूल्याङ्कनमा पनि सुधार देखिएको छ । आव २०७८/७९ मा ७४ प्रतिशत रहेको अङ्क आव २०८२/८३ मा ९० प्रतिशत पुगेको अस्पतालले जनाएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले अस्पताललाई दीर्घकालीन र भरपर्दो रूपमा सञ्चालन गर्न स्थायी दरबन्दी पुनरवलोकन गरी जनशक्ति बढाउन आवश्यक रहेको बताउनुभयो ।




