३० असोज, सैनामैना ।
नेपालीहरूको महान् पर्व बडादशैँ नजिकिँदै गर्दा ‘भगौँ अभियान नेपाल’ले आर्थिक अभावमा रहेका परिवारलाई सहयोग गर्ने अभियान सञ्चालन गर्ने भएको छ।



अभियानअन्तर्गत आवश्यकतामा रहेका परिवारलाई खाद्यान्न, लत्ताकपडा तथा घरायसी सामग्री उपलब्ध गराउने लक्ष्य राखिएको अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो।
दशैँमा आर्थिक अभावका कारण कुनै पनि परिवार चाडपर्वको खुसीबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो। अभियानले सहयोग आवश्यक पर्ने परिवारको पहिचान गरी उनीहरूलाई आवश्यक सामग्री उपलब्ध गराउने लक्ष्य राखेको छ।
त्यस्तै, आफ्नो टोलछिमेकमा सहयोग आवश्यक परेका व्यक्ति वा परिवार भएमा अभियानलाई जानकारी गराउनसमेत अनुरोध गरिएको छ। त्यस्ता परिवारबारे जानकारी दिन वा सम्पर्क गर्न ९८५७०२६५२५ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ।
अभियानका अध्यक्ष शर्माले सामाजिक सेवाको भावनासहित अघि बढाइएको अभियानमा सबैको सहकार्य र सहयोग आवश्यक रहेको बताउनुभयो।




