LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

कात्तिक ८ गते ।

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ विद्युत् निर्यातबाट ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ। बाढीका कारण केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालु आवको भदौको तुलनामा यस वर्ष असोजमा निर्यातबाट प्राप्त आम्दानी बढेको हो।

प्राधिकरणका अनुसार असोज महिनामा भारततर्फ ६३ करोड ३९ लाख युनिटभन्दा बढी विद्युत् निर्यात गरिएको थियो। गत वर्षको असोजमा ४ अर्ब ९६ करोड ३० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात भएकोमा यस वर्ष ९६ करोड २० लाख रुपैयाँले वृद्धि भएको छ। त्यस्तै, चालु आवको भदौको तुलनामा असोजमा निर्यात कारोबार ८३ करोड २५ लाख रुपैयाँले बढेको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिना साउन, भदौ र असोजमा विद्युत् निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

प्राधिकरणले देशभित्रको माग पूरा गरी बचत भएको वर्षायामको विद्युत् भारतमा द्विपक्षीय सम्झौताअनुसार तथा भारतीय ऊर्जा विनिमय बजारमार्फत बिक्री गर्दै आएको छ। असोजमा भारतको हरियाणा र बिहार राज्यमा द्विपक्षीय सम्झौताअनुसार विद्युत् बिक्री गरिएको थियो भने बाँकी विद्युत् भारतीय ऊर्जा विनिमय बजारको डे-अहेड तथा रियल टाइम बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको प्राधिकरणले जनाएको छ।

यसैबीच, भारतको प्रसारण प्रणाली प्रयोग गरी बङ्गलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात पनि पुनः सुरु भएको छ। भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली नदीमा आएको बाढीले त्रिशूली र चिलिमे जलविद्युत् आयोजनामा क्षति पुर्‍याएपछि निर्यात रोकिएको थियो। भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट वैकल्पिक आयोजनाबाट उत्पादित विद्युत् निर्यात गर्न अनुमति प्राप्त भएपछि कात्तिक ६ गतेदेखि निर्यात पुनः सुरु भएको हो।

नयाँ व्यवस्थाअनुसार त्रिशूली, देवीघाट र चिलिमे आयोजनाको सट्टा सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बङ्गलादेश तथा भारतको हरियाणातर्फ निर्यात गर्न स्वीकृति प्राप्त भएको छ। नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डबीच भएको पाँचवर्षे सम्झौताअनुसार प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म दैनिक ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात हुँदै आएको छ।

यसैबीच, भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट थप ३१ मेगावाट विद्युत् निर्यातको अनुमति प्राप्त भएको छ। यससँगै भारततर्फ विद्युत् निर्यात गर्न स्वीकृति प्राप्त कुल क्षमता करिब एक हजार १७९ मेगावाट पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय