स्याङ्जा,९ कार्तिक ।
नेपाली कांग्रेसका सभापति गगन थापाले पहिलाको जस्तो निर्वाचनको बेलामा दुई दिन, दुई घण्टा अगाडि टिकट लिने, खोस्ने कुनै कुरा नहुने बताएका छन् । स्याङ्जामा आयोजित स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै यस पटक निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउने बताए । पार्टीको विधानमा व्यवस्था गरेका छौँ। हामीले सबैको सदस्यता अद्यावधिक गरिसकेका छौँ । बाँकीको पनि गर्छौँ। उम्मेदवारको प्रारम्भिक काम पुस माघभित्र गरिसक्छौँ। तलबाट साथीहरूबाट डिजिटल्ली मतदान हुन्छ । साथीहरूले छान्नुहुन्छ, त्यही प्रारम्भिक सूचीबाट नै हामी उम्मेदवार बनाउँछौँ ।’



सभापति गगन थापाले मंसिर महिनालाई पार्टीको जागरण महिना बनाउन नेताकार्यकर्तालाई आग्रह गरेका छन् । अहिले सङ्गठनलाई प्रभावकारी बनाउने र जनतासँगको सम्बन्ध सुधार गर्ने कामलाई प्राथमिकता दिनुपर्ने बताए ।
कांग्रेसले गुमाएको मतभन्दा पनि विश्वास पुनःस्थापित गर्नु अहिलेको मुख्य आवश्यकता भएको बताए ।उनले भने, ‘हामीले गुमाएको मत होइन, हामीले गुमाएको विश्वास हो । विश्वासलाई पुनःस्थापित गरेपछि मत विश्वासलाई पछ्याउँदै आउँछ । जनताको विश्वास पुनःस्थापित गर्न सङ्गठनका प्रत्येक सदस्यको मेहनत र पार्टीप्रतिको जनधारणा सुधार दुवै आवश्यक छन् ।’
कांग्रेसले आफ्नो छवि र जनतामा बनेको धारणाको समीक्षा गर्दै विश्वास गुम्नुका आन्तरिक तथा बाह्य कारण पहिचान गर्नुपर्ने उनले बताए । विगतमा निर्वाचनमा पराजित भए पनि कांग्रेसले लोकतान्त्रिक मूल्य–मान्यता, व्यक्तिगत स्वतन्त्रता र शान्ति प्रक्रियाको पक्षमा दृढतापूर्वक काम गरेको बताए ।
१२ गते शपथपछि बस्ने केन्द्रीय समिति बैठकले पार्टीको आगामी योजना तय गर्ने बताए ।जनतासँगको सम्बन्ध स्थापित गर्दै स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनुपर्ने बताए ।




