LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालमा अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समिति विस्तार गरेपछि पार्टीभित्र विष्फोटको स्थिति उत्पन्न भएको छ । छोरी, सम्धी, सम्धिनी र आफ्नो संसदीय क्षेत्र तथा जिल्लालाई नै प्राथमिकतामा राखेका ठाकुरले मनपरी गरेको भन्दै पार्टीमा चर्को असन्तुष्टि देखिएको हो ।

अर्का वरिष्ठ नेता शरतसिंह भण्डारीको पनि साथ पाएपछि ठाकुरले एकल निर्णय गर्दै आफू निकटकालाई मनोनयन गरेको लोसपका नेताहरूले आरोप लगाएका छन् । अध्यक्ष ठाकुरले आफ्ना सम्धी उमाकान्त झालाई वरिष्ठ उपाध्यक्ष, सम्धिनी इन्द्रा झालाई उपाध्यक्ष र छोरी डा. मिनाक्षी ठाकुरलाई केन्द्रीय सदस्य मनोनयन गरेका छन् ।

‘मधेश आन्दोलनको बलमा बनेको पार्टी अहिले परिवारको क्लब जस्तो बन्यो, परिवारवादका कारण नयाँ पार्टीतर्फ मतदाताको आकर्षण बढ्न थाल्यो’ पछिल्लो मनोनयनप्रति लोसपाका एक शीर्ष नेताले लोकान्तरसँग भने ।

त्यसै गरी अर्का वरिष्ठ नेता शरतसिंह भण्डारीले आफू निकटकी निर्जला राउतलाई वरिष्ठ उपाध्यक्ष तथा कोषाध्यक्ष बनाउनुका साथै छोरी सृष्टिसिंह भण्डारीलाई सचिव, बहिनी ममता राणालाई केन्द्रीय सदस्य, नातामा साली पर्ने डा. निलिमा खड्का र अञ्जु थापालाई केन्द्रीय सदस्य, जेठान रमेशबहादुर सिंह र नातामा साढु भाइ पर्ने प्रदीप खड्कालाई केन्द्रीय सदस्य बनाएका छन् । सृष्टिका पति अर्को पार्टीमा छन् ।​

सृष्टिसिंह भण्डारीलाई शरतसिंह भण्डारीले आफ्नो उत्तराधिकारी बनाउन चाहेको सन्देश दिएको उनी निकट एक नेता बताउँछन् । आगामी चुनावमा भण्डारी नलड्ने स्थिति आए प्रतिनिधि सभामा नै छोरीलाई अघि सार्न सक्ने तयारीको रूपमा पनि लिन सकिने उनले खुलाए । प्रतिनिधिसभामा नभए प्रदेश सभामै पनि छोरीलाई चुनाव लडाउने सोचसहित भण्डारी अघि बढेको हुनसक्ने ती नेता बताउँछन् ।

‘भण्डारीजीको आफ्नो श्रीमती राजनीतिमा हुनुहुन्न । उहाँको तर्फबाट अहिलेसम्म पार्टीमा निर्जला राउतले लाभ लिँदै आएकी छिन्,’ ती नेताले थपे, छोरीलाई राजनीतिक उत्तराधिकारी बनाउन चाहेको पो हो की भन्ने देखिएको छ ।’ मन्त्रालयको काममा राउतले हस्तक्षेप गर्दै आएको लोसपाका एक नेताले दाबी गरे ।

अर्का वरिष्ठ नेता राजेन्द्र महतोका ज्वाइँ अनिल महासेठ र भतिज उपेन्द्र महतोलाई महासचिव बनाइएको थियो । तर, ज्वाइँ महासेठले महासचिव पद अस्वीकार गरेका छन् ।

त्यसबाहेक अध्यक्ष ठाकुरले आफ्नो संसदीय क्षेत्र महोत्तरी-३ र महोत्तरी जिल्लाका नेतादेखि कार्यकर्ताहरूलाई पदाधिकारीदेखि केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।

लोसपाको केन्द्रीय समिति विस्तारप्रति वरिष्ठ नेता राजेन्द्र महतोले असन्तुष्टि व्यक्त गरेका छन् । ‘पदाधिकारीसहित केन्द्रीय समिति विस्तार गर्ने जिम्मेवारी पार्टीको कार्यकारिणी बैठकले अध्यक्ष ठाकुरजीलाई नै एकल अधिकार दिएको थियो,’ महतोले लोकान्तरसँग भने,’उहाँले आफ्नो अधिकारको प्रयोग गरेर लिस्ट बनाई निर्वाचन आयोगमा हिजो पठाउनु भएको थियो । लिस्ट हेर्दा असन्तुलित भयो भनेर हिजोको बैठकमा नै आफ्नो प्रतिक्रिया दिएको थिएँ ।’

पदाधिकारी मनोनयनलाई लिएर विभिन्न नेता तथा कार्यकर्तामा असन्तुष्टि देखिएको छ नि भन्ने प्रश्नमा उनले भने,’यसमा अब मैले के भन्ने ? जे छ त्यो त सार्वजनिक भइसकेको छ ।’

आगामी दिनमा पार्टी बैठकमा यस विषयमा छलफल हुने उनले बताए । पार्टीभित्र के अहिले तपाईँ असन्तुष्ट हो भन्ने विषयमा उनले केही भन्न चाहेनन् ।

महतो २०७४ सालको निर्वाचनमा धनुषा-३ मा नेपाली कांग्रेसका तत्कालीन उपसभापति विमलेन्द्र निधीलाई पराजित गर्दै सांसद बनेका थिए । तर २०७९ सालको निर्वाचनमा भने उनी आफ्नै गृह जिल्ला सर्लाही-२ मा उठे पनि नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएका नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवसँग पराजित भएका थिए ।

पार्टी अध्यक्ष ठाकुर र वरिष्ठ नेता भण्डारी क्रमशः महोत्तरी-३ र महोत्तरी-२ बाट चुनाव जित्न सफल भएका कारण पार्टीमा पनि ती दुई नेताकै वर्चस्व छ । पार्टीले सरकारमा भण्डारीलाई मन्त्री समेत बनाएको छ ।

अहिले वरिष्ठ नेतामा मनोनीत भएका अनिल झा पनि धनुषा-३ बाट पराजित भएपछि उनी पनि किनारामा परेका छन् ।

पदाधिकारी विस्तारमा झा निकटका कार्यकर्ता समेटिएका छैनन् । झा निकटका एक नेताका अनुसार अध्यक्ष ठाकुर र झाबीच खासै संवाद भएको छैन ।

‘एक त त्यसै पनि बैठकमा अनिलजीको उपस्थिति खासै देखिएको छैन’, झा निकटका ती नेताले लोकान्तरसँग भने,’ केन्द्रीय समितिको विस्तार सम्बन्धमा हिजो उहाँ बैठकमा आउनु भएन ।’ यस विषयमा बुझ्न खोज्दा उनले केही प्रतिक्रिया दिन चाहेनन् ।

अध्यक्ष ठाकुरको कार्यशैलीप्रति महतो असन्तुष्ट छन् । असन्तुष्ट नेतालाई साथमा लिएर पार्टीभित्र नेतृत्व परिवर्तनको बहस चलाउने तयारी महतोले गरिरहेको उनी निकट नेताहरू दाबी गर्छन् । उमेर र स्वास्थ्यका कारण पनि महन्थ शिथिल बन्दै गएको लोसपा नेताहरू बताउँछन् ।

लोसपाभित्र उकुसमुकुसमा रहेका महतोलाई विद्रोह गर्न धेरै जसो कार्यकर्ताले उक्साइरहेको भए पनि त्यस्तो गल्ती महतोले नगर्ने उनले खुलाए ।

‘चार सिट मात्र जितेको लोसपामा १६ जना महासचिवसहित ६३ जना पदाधिकारी मात्र चयन गरिएको छ । यत्रो सानो पार्टीमा १६ जना महासचिव हुनु नै पनि जग हँसाई होइन,’ महतो निकटका ती नेताले थपे,’महन्थ ठाकुरजी आफ्नै कारणले पनि अब पार्टी सञ्चालन गर्न नसक्ने अवस्थामा आइसकेको संकेत गर्दछ ।’

पार्टीमा एक तप्का नेतृत्व परिवर्तन गर्न लागेको देखिए पनि ठाकुरले अहिले नै पार्टीको नेतृत्व महतोलाई हस्तान्तरण गर्ने कुनै पनि सम्भावना नरहेको ठाकुर निकट एक नेताको दाबी छ ।

‘पार्टी भित्रको शक्ति सन्तुलन ठाकुरजीकै पक्षमा छ । जसलाई जे लागे पनि ठाकुरजी नै पार्टीको नेतृत्वमा रहिरहनु हुन्छ,’ ती नेताले थपे,’पार्टीमै दुई तिहाइभन्दा पनि बढी मत ठाकुरजीको पक्षमा छ । त्यसबाहेक राष्ट्रिय/अन्तर्राष्ट्रिय परिवेशले पनि ठाकुरजीको विकल्प खोजेको छैन ।’

लोसपा अहिलेकै अवस्थामा भने नरहने उनको कथन छ । कुनै न कुनै पार्टीसँग एकता वा सहकार्य गरी अगाडि बढ्ने तयारी भइरहेको उनले बताए । तत्काल केही असन्तुष्टि देखिए पनि त्यसलाई मिलाएर पार्टी सञ्चालन हुने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय