रुपन्देहीको सैनामैना नगरपालिका वडा नं ८ मा रहेको सिद्धार्थ मेमोरियल एकेडेमीको सिद्धार्थ स्काउट ट्रुप प्रथम दिक्षान्त समारोह तथा ब्याज बितरण सम्मान कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । एकेडेमीका प्राचार्य भोजराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्यता लुम्बिनी प्रदेश स्काउटका संयोजक दिनानाथ भट्टराई हुनुहुन्थ्यो ।
कार्यक्रममा बोल्दै स्काउटका लुम्बिनी प्रदेश संयोजक भट्टराईले स्काउटलाई गुणस्तरीय शिक्षाको माध्यमबाट अघि बढाउन सकिने बताउँदै हाम्रा बालबालिकालाई स्काउटमा जोडेर उनीहरुको सर्वाङ्गिण विकासमा योगदान पु¥याउन सकिने उल्लेख गर्नुभयो । उहाँले स्काउटले शारीरिक, मानसिक, बौद्धिक र सामाजिक भावनाका साथ हाम्रा बालबालिकाहरुलाई जोडन सक्यो भने बालबालिकाहरु राष्ट्र, समाज र परिवारप्रति जवाफदेही बनाउन सकिने उल्लेख गर्नुभयो ।
कार्यक्रममा सिद्धार्थ मेमोरियल एकेडेमीका प्राचार्य भोजराज पौडेलले स्काउटको महान उद्देश्य नै अरुको सेवा गर भन्ने रहेकोले स्काउटका सदस्य भाई बहिनीहरुले शिक्षासंगै सेवाको भावनालाई पनि उत्तिकै महत्व दिएर अघि बढनुपर्ने बताउनु भयो । उहाँले आफ्नो लागिभन्दा अरुको लागि बाँच्नुपर्दछ र समाजमा हुने हरेक कृयाकलापमा सरिक हुनुपर्दछ भन्ने भावनाले ओतप्रोत भएर स्काउटमा समर्पित भएका बालबालिकालाई सम्मानित भएकोमा बधाई समेत दिनुभयो ।



कार्यक्रममा सिद्धार्थ एकेडेमीकी छात्रा करिस्मा पोखरेलले नेपाल स्काउटले आयोजना गरेको टिकटक प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेपछि उनलाई नगद सहित प्रमाणपत्र र ट्रफीले सम्मानित गरिएको थियो । कार्यक्रममा विद्यालयकी स्काउट संयोजक चन्द्रिका भट्टराईले पनि बोल्नुभएको थियो । सो अवसरमा करिव ५५ जना स्काउट विद्यार्थीलाई स्काउट ब्याज प्रदान गरिएको थियो । कार्यक्रमको संचालन विद्यालयका अतिरिक्त कृयाकलाप संयोजक विष्णुप्रसाद अर्यालले गर्नुभएको थियो भने कार्यक्रमको बीच बीचमा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।




