रूपन्देही मासु व्यवसायी संघले यस क्षेत्रका ३४ वटा सहकारी संस्थाहरुको लगानी रहेको ईन्भेष्टमेन्ट कम्पनी र मासु व्यवसायीहरूको लगानीमा नीजि स्तरबाट पशु बधसाला निर्माण गर्ने तयारी भैरहेको जनाएको छ ।
संघले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि बुटवल उपहानगरपालिकाले बधशाला संचालनमा एकलौटी गरेको भन्दै त्यसप्रति असहमति जनाउँदै आफूहरुले नीजि स्तरबाट पशु बधशाला बनाउने जनाएको हो ।
कार्यक्रममा बुटवल मासु उत्पादन तथा प्रसोधन प्रालिका अध्यक्ष समेत रहेका मासु व्यवसायी संघ रूपन्देहीका पूर्व अध्यक्ष तथा सल्लाहकार कृष्णप्रसाद पौडेलले ईन्भेष्टमेन्ट कम्पनी र मासु व्यवसायीहरूको लगानीमा पशु बधशाला निर्माण गर्ने योजनाको थालनी गरिएको बताउनु भयो ।
उहाँले यसको लागि जग्गा पहिचान गर्न ७ सदस्यीय समिति समेत गठन गरिएको जानकारी दिनुभयो ।



लुम्बिनी प्रदेश सरकार, बुटवल उपमहानगरपालिका र हेफरईन्टरनेशनल नेपालको प्राविधिक सहयोगमा बुटवल–१० रामनगरमा निर्माण भएको पशु बधशालामा बुटवल उपमहानगरले एकलौटी गरेको भन्दै महिला उद्यमी सहित व्यवसायीहरूले सहभागी नहुने घोषणा गरेका छन ।
सम्झौताको अन्तिम समयमा आएर बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिसंग कुनै पनि छलफल नै नगरी बुटवल उपमहानगरपालिकाले काठमाडौमा रहेको एक कम्पनीसंग सम्झौता गरेपछि यो बधशालाका लुम्बिनी प्रदेशका २५ हजार महिला उद्यमी र ४ वटा ईन्भेष्टमेन्ट कम्पनी र १७ सय बढि व्यवसायीहरू सहभागी नहुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
रूपन्देही मासु व्यवसायी संघका अध्यक्ष चुरामणि घिमिरेले नगरपालिकाले सयौं किसान र व्यवसायीहरूमाथि ठाडै नजर अन्दाज गरेको बताउनु भयो । उहाँले बुटवल उपमहानगरले वि.स. २०८० असार ३ मा ३५ दिने सूचना जारी गरेको तर त्यो पुनरावोलन गर्नुपर्ने माग सहित जाँदा दर्ता समेत नगरी ईमेल र चिठ्ठी मार्फत दिएको निवेदन समेत नगरपालिकाले बेवास्ता गरेको बताउनु भयो ।
रूपन्देही मासु व्यवसायी ईन्भेष्टमेन्ट कम्पनी लिमिटेड कम्पनीका अध्यक्ष नारायण बहादुर जिसीले अहिले बुटवल उपमहानगरपालिकाले ठेक्का दिएको कम्पनीमा व्यवसायीहरूले कुनै पनि साथ नदिने बताउनु भयो ।
बुटवल मासु उत्पादन तथा प्रसोधन प्रालिलाई ठेक्कामा दिने गरी पहिलो चरणको निर्णय गर्दा ३ वटा कम्पनीको विचमा प्रतिष्पर्धा गराएर प्रतिष्पर्धामा छनौट गरेको बुटवल उप–महानगरपालिकाले मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडबीच सम्झौता गर्दा एउटा मात्रै कम्पनीलाई टेन्डर हाल्न लगाएर दिएको आरोप यस क्षेत्रका व्यवसायीहरूले गर्दै आएका छन ।
बुटवल उपमहानपालिकाले वि.स. २०८० असोज २ गते मुक्तीनाथ लाइभस्टक बैंक लिमिटेडलाई वार्षिक ५८ लाख ३८ हजार ७ सय १० रूपैयाँमा ५ बर्षका लागि ठेक्कामा दिएको थियो ।




