काठमाडौँ । भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्स एन्ड टिचिङ हस्पिटलका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । क्याम्पसको प्रिन्सिपलले अनावश्यक टर्चर दिने गरेको भन्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरूले प्रिन्सिपल प्राडा लक्ष्मी पाठकको राजीनामा माग गरेका छन् । एक महिनाअघि मात्रै प्रिन्सिपलमा नियुक्त भएकी पाठकको विद्यार्थीहरूले नै राजीनामा माग गरेका हुन् ।प्रिन्सिपलमा नियुक्त भएर आएपछि पाठकले एमबीबीएस तेस्रो, चौथो र पाँचौँ वर्ष तथा इन्टर्नसिप गर्ने विद्यार्थीहरूका लागि नयाँ ड्रेसकोड लागू गरेकी थिइन् । विद्यार्थीहरूले उक्त ड्रेसकोड मान्य नहुने भन्दै विरोध जनाएका थिए । सुरूमा सामान्य जस्तै देखिएको यो विषय पछि गएर विद्यार्थीहरूले पाठकको नै राजीनामा माग्न थालेका हुन् ।



चौथो, पाचौं र इन्टर्नसिप गर्दै आएका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले प्रिन्सिपलले राजीनामा दिनुपर्ने, नयाँ ड्रेसकोड लागु नगरी पहिलेको जस्तै यथावत राख्नुपर्ने, इन्टनसीपको पारिश्रमिक बढाउनुपर्ने, परीक्षा दिन प्रतिबन्ध लगाएका विद्यार्थीहरूको प्रतिबन्ध फुकुवा गर्नुपर्ने लगायतका माग गरेका छन् ।
केही दिनदेखि युनिफर्मको नाममा क्याम्पसले विद्यार्थीहरूलाई दमन र मानसिक यातना दिँदै आएको आरोप लगाएका छन् । प्रिन्सिपल भएर आएसँगै पाठकले सबै विद्यार्थीहरूका लागि पाइन्ट र सर्टको व्यवस्था गरेकी थिइन् । तर, महिला विद्यार्थीहरूले लामो समयसम्म पाइन्ट र सर्ट लगाएर इन्टर्न गर्न नसकिने भन्दै विरोध जनाएका थिए । त्यसरी विरोध जनाउने अन्तिम वर्षका विद्यार्थीहरूलाई परीक्षामा समेत रोक लगाएको विद्यार्थीहरूको भनाइ छ ।




