रुपन्देहीको सैनामैना क्षेत्र भगवान गौतमबुद्धको जीवनसंग जोडिएको ऐतिहासिक पुरातात्विक नगर हो । ऐतिहासिक पहिचान बनाएको यो नगर पछिल्लोसमय उद्योग र व्यापारिक नगरको रुपमा समेत स्थापित हुँदैछ । सैनामैनामा हरेक बर्ष औद्योगिक व्यापार मेला र महोत्सव हुँदै आएको छ । यो बर्ष हुने छैठौं राष्ट्रिय सैनामैना कृषि, पर्यटन, प्रविधि तथा औद्योगिक व्यापार महोत्सवले सैनामैनाको उद्योग व्यापार क्षेत्रसंगै यहाँको कला, लोकसंस्कृति र स्थानीय पहिचान बढाउन सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
सैनामैना उद्योग बाणिज्य संघले आगामी मंसिर ६ देखि १७ गतेसम्म आयोजना गर्ने छैठौं राष्ट्रिय सैनामैना कृषि, पर्यटन, प्रविधि तथा औद्योगिक व्यापार महोत्सवको तयारी तीब्ररुपमा अघि बढाएको छ । संघले सैनामैना वडा नंं ३ मुर्गियामा रहेको दुर्गा मन्दिर परिसर र सैनामैना पार्क निर्माण स्थल पुरानो हाटबजार क्षेत्रमा महोत्सवको लागि आवश्यक तयारीको काम गरिरहेको । आर्थिक विकासको राष्ट्रिय आधारः कृषि, पर्यटन, उद्योग र ब्यापार भन्ने नाराका साथ हुने महोत्सवले सैनामैनासंगै यस क्षेत्रको उद्योग व्यापार र लोक संस्कृति संरक्षण तथा प्रवद्र्धनमा टेवा पुग्ने आयोजकले जनाएका छन । आयोजक संस्था सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष प्रेमबहादुर खडकाले महोत्सवले स्थानीय कला संस्कृतिको संरक्षणमा टेवा पुग्नुका साथै प्रविधि प्रदर्शनले सैनामैनाको विकासमा सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।



महोत्सव आयोजक सैनामैना उद्योग बाणिज्य संघका पदाधिकारी तथा सदस्यहरु अहिले मेला आयोजना स्थल मुर्गियाको दुर्गा मन्दिर र पुरानो हाटबजार क्षेत्रमा तयारीमा ब्यस्त भएका छन । पर्रोहा, दुधराक्ष र सालझण्डी गाविस मिलेर सैनामैना नगर बनेकोले सैनामैनाको पहिचान बढाउन पनि यो महोत्सवले सहयोग पु¥याउने आयोजकको अपेक्षा छ । त्यसका लागि सैनामैनाको कला संस्कृति संरक्षण गर्दै यहाँको कला संस्कृतिको विकासमा पनि यो महोत्सवले नयाँ सन्देश दिने मेला आयोजक उद्योग वाणिज्य संघको विश्वास छ ।
मुर्गियामा हुने महोत्सवमा देशैभरीबाट दुईसय औद्योगिक व्यवसायीक प्रतिष्ठानको सहभागिता रहने भएको छ । महोत्सवकै अवसरमा सैनामैना डान्सिङ आईडलका साथै नगरस्तरीय विद्यालय लोकनृत्य प्रतियोगिता, लोक दोहोरी प्रतियोगिता, मम्मी डान्स प्रतियोगिता, स्थानीय औद्योगिक उत्पादनको प्रदर्शनी, स्थानीय कृषि उत्पादनको प्रदर्शनी र स्थानीय कला संस्कृतिको प्रदर्शनी हुने र यसले समग्र सैनामैना क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
महोत्सवमा उद्योग, व्यापार, स्थानीय कला संस्कृतिको प्रदर्शन, कृषिजन्य बस्तुको प्रदर्शन र विविध लोक संस्कृतिले महोत्सवको महत्व र गरिमा अझै बढ्ने आयोजकले विश्वास लिएका छन ।
यसअघि गत बर्ष सैनामैना ब्यापार संघले फागुनमा कालिकाचोकमा महोत्सवको आयोजना गरेको थियो । हरेक बर्ष आलोपालो गरि महोत्सव आयोजना गर्ने तालिका अनुसार यो बर्ष मंसिरमा सैनामैना उद्योग बाणिज्य संघले महोत्सव गर्न लागेको हो ।




