सैनामैना, १९ कार्तिक ।
अपांग महिला सशक्तीकरण केन्द्र रुपन्देहीको आयोजनामा हामीलाई पनि समावेश गर परियोजना अन्तरगत अपाङ्गतामैत्री भौतिक संरचना निर्माण तथा वातावरणका लागि वकालत कार्यक्रम आईतवार सैनामैनामा सम्पन्न भएको छ ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आर्थिक सहयोगमा भएको कार्यक्रममा बोल्दै सैनामैना नगरपालिका पशु विकास शाखाका बरिष्ठ अधिकृत इन्द्रबहादुर खडकाले सैनामैना नगरपालिकाको कृषि तथा पशु विकास शाखामा आउन अपांगता भएकाहरुलाई अपांगमैत्री संरचना रहेको बताउँदै नगरपालिकाले कृषि तथा पशुजन्य कुनैपनि कार्यक्रममा अपांग भएकै आधारमा कसैप्रति भेदभाव नगर्ने बताउनु भयो ।
उहाँले सैनामैनामा रहेका कृषि तथा पशुजन्य फर्ममा समय समयमा अनुगमन गर्ने र उनीहरुलाई आवश्यक परामर्श समेत प्रदान गर्दै आएको बताउनु भयो ।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष हुमनाथ अधिकारीले अपांगमैत्री संरचना निर्माणमा संस्थाले स्थानीय पालिकालाई खबरदारी गर्दै आएको बताउनु भयो ।
कार्यक्रममा नगरपालिकाका पशु स्वास्थ्य प्राविधिक विष्णुप्रसाद घिमिरे र पत्रकार भुवन जिसीको पनि उपस्थिति रहेको थियो ।







