रुपन्देहीको तिलोत्तमामा शुक्रवारदेखि औद्योगिक व्यापार मेला सुरु भएको छ । तिलोत्तमा उद्योग वाणिज्य सङ्घको आयोजनामा तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम पर्यटन प्रवद्र्धन महोत्सव–२०८० सुरु भएको हो ।
सबल अर्थतन्त्रको आधार, कृषि, एवम पर्यटन, उद्योग र व्यापार भन्ने मुल नाराका साथ मंसिर १२ गतेसम्म संचालन हुने मेलाको उदघाटन संघीय सांसद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले गर्नुभयो ।



मेला आयोजक मुल समितिका संयोजक तथा तिलोत्तमा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गुणनिधी भण्डारीले मेला उदघाटन पूर्व मेला सचिवालयबाट आमा समूह, क्लब, संघ संस्था, टोल बिकास संस्थालगायतको सहभागितामा विभिन्न जात जातिको भेषभुषा र झाकी सहित प्रभात फेरि कार्यक्रम सम्पन्न गरिएको बताउनु भयो ।
मेलामा मुलुकका विभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवं औद्योगिक मेशिनरीको प्रदर्शनी एवं बिक्री हुने संघका महासचिव राजकुमार पाण्डेले बताउनुभयो ।
प्रदर्शनीमा कृषिमा हुँदै गएको आधुनिकीकरण, स्वदेशी वस्तुको उत्पादन साथै व्यावसायीकरण, पर्यटनको सम्भावनासँगै ती स्थानको पहिचान एवं गन्तव्यको सुनिश्चितताको खोजी गरिने गोष्ठी, तालिम तथा सेमिनार समितिका संयोजक सुरज पगेनिले जानकारी दिनुभयो ।
प्रदर्शनीमा स्वदेशी उत्पादन, बजार व्यवस्थापन, उपभोक्तामाझ नयाँ प्रविधि र वस्तुको पहिचान एवं प्रवद्र्धनको माध्यमबाट आर्थिक विकासमा महत्वपूर्ण योगदान हुने विश्वास गरिएको छ ।




