भेरी नगरपालिका–१ घुयलनेटाको पूरै गाउँ शोकमा छ । घाइते भएका र मृतकका आफन्त अहिले पनि सामूहिकरुपमा त्रिपालमा बसेका छन् । भूकम्प नआए पनि उनीहरुको मनमा धेरै पटक भूकम्प गएझैँ हुने गरेको छ । यो सदरमुकामभित्रको पालिका भए पनि अति दुर्गम बस्तीभित्र पर्दछ । जनयुद्धकालमा समेत यहाँको बस्तीमा धेरै पटक बमबारी गरिएको थियो ।
पटकपटक पीडा खप्दै आएको यो गाउँ फेरि पनि भूकम्पको मारमा परेको छ । डाँडामाथिको बसाइका कारण बालबालिकामा आँखा पाक्ने रोग देखा पर्न थालेको स्थानीय कलिमान रानाले बताउनुभयो ।
घुयलनेटाकी देउमा रानाको घर भूकम्पले तहसनहस भयो । उहाँकी छोरी घाइते हुनुभयो । प्रदेश अस्पतालमा उपचार गरेर बल्ल छोरी फर्किनुभएको छ । आमा र छोरीसँगै सुतेको समयमा भूकम्प गएको थियो ।
आमा देउमा भग्नावशेषमा परिणत भएको घरभित्र रहेका मालसामान निकाल्न लाग्नुभएको छ । घरभित्र भएका कुनै पनि सामान देउमाले सग्लो पाउनुभएको छैन । अहिले उहाँको १० जनाको परिवार स्थानीय विद्यालयको चौरमा त्रिपाल टाँगेर बसिरहेको छ ।
भेरी नगरपालिका–४ खलङ्गास्थित कस्तुरी बोर्डिङ स्कुलको प्राङ्गणमा त्रिपालमा एक सातादेखि बसिरहेकी १८ दिनकी सुत्केरी विमला तिरुवाको त्रिपालमा दैनिकी चलिरहेको छ । चिसो र आवश्यक स्याहारसुसार नहुँदा आमाका साथै बच्चा पनि बिरामी परेका छन् । त्रिपालको चिसोले आमा र नवजात शिशु दुवैका मुख, आँखा, हात खुट्टा सुनिएको छ ।
भूकम्प गएदेखि त्रिपालको सहारामा रहेको यो परिवारले भाडामा बस्नका लागि घर पाएको छैन । पाँच जनाको परिवारलाई कामै गरेर जीवन धानिरहेको यो परिवार अहिले कामविहीन मात्र होइन, घरमा खाने कुरा नभएर हैरानमा छ ।
त्रिपालकै सहारामा बसिरहेको अर्को हेमन्तजंग सिंहको परिवारलाई त्यस्तै खालको समस्या रहेको छ । एउटा त्रिपालभित्र सबै परिवारका सदस्य बस्दा दैनिक समस्य हुँदै आएको छ । साना नानी, बाबु त्रिपालभित्र बिरामी भएका छन् भने ठूलालाई पनि बस्न मुस्किल परिरहेको छ ।
स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. प्रतीक्षा भारतीले चिसोले धेरै बालबालिका बिरामी पर्न थालेको बताउँदै उपचारको व्यवस्था मिलाउन सम्बन्धित पालिका र स्वास्थ्य संस्थालाई आग्रह गरिएको बताउनुभयो







