पाल्पाको सत्यवतीमा चिच्याएर बर माग्ने मेला लाग्ने भएको छ । विगतका वर्षमा जस्तै यो वर्ष पनि आगामी मङ्सिर ७ गतेदेखि ११ गतेसम्म चिच्याएर बर माग्ने मेला हुने सत्यवती ताल तथा मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
तिनाउ गाउँपालिका–४, सत्यवतीमा हरेक वर्ष चिच्याएर बर माग्ने मेला लाग्ने गर्दछ । यो वर्ष मेला पाँच दिनसम्म सञ्चालन हुने समितिका अध्यक्ष दानबहादुर गाहाले जानकारी दिनुभयो । परम्परादेखि नै यहाँ चिच्याएर बर माग्ने अनौठो मेला लाग्ने गरेको उहाँले बताउनुभयो ।



परापूर्व कालमा सत्यवती बज्यै घना जङ्गलको बीचमा आई तपस्या गरेपछि शक्ति प्राप्त गरेको किमबदन्तीमा उल्लेख छ । सत्यवती बज्यै कानले नसुन्ने बहिरी भएकाले भक्तजनले सत्यवती ताल नजिकै पुगेर चिच्याएर मनमा चिताएको बर मागेमा बज्यैले पूरा गरिदिने जनविस्वास रहेको छ ।
यही विस्वासका कारण यहाँ हरेक वर्ष तिहारपछिको पूर्णिमामा मेलामा हजारौँ भक्तजन बर माग्ने मेलामा सहभागी हुने गरेको स्थानीय बासिन्दा एवं वडा अध्यक्ष तुलबहादुर आलेले बताउनुभयो ।
बर माग्ने भक्तजनले बाँस, निगालो, साल आदि जातका लिङ्गो लिएर रातिको समयमा तालमा गाँड्ने र आफूले गाँडेको लिङ्गो भोलिपल्ट चिनेर त्यही पूँजा गरेपछि घरमा फर्कने परम्परा रहेको छ । ताल नजिकै रहेको मन्दिरमा बोका, पाठी, कुखुराका भाले, परेवा समेत बली चढाइन्छ ।
यहाँ परापूर्व कालदेखि नै बर माग्नका लागि नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत भक्तजन आउने गरेको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो ।सत्यवती ताल क्षेत्रको संरक्षण गर्दै बर माग्न आउने भक्तजनको सुबिधाका लागि सडक मर्मतको काम भइरहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
यो वर्ष दुई लाख बढी भक्तजन बर माग्नका लागि मेलामा सहभागी हुने अपेक्षा गरिएको छ ।




