बाला चतुर्दशीको अवसरमा देशभरका शिवालयमा सोमबार बिहानैदेखि शतबीज छर्न भक्तजनको भीड लागेको छ ।
दिवङ्गग भएका पितृहरूको सम्झनामा मृतकका आफन्तजनले आइतबार रातभर दीप प्रज्ज्वलन गरी सोमबार शतबीज छर्ने धार्मिक प्रचलन छ ।
बाला चतुर्दशीको अवसरमा रुपन्देहीको कञ्चन गाउँपालिका वडा नंं ४ भैरवघाटमा समेत बालाचतुर्दशी मेला आयोजना गरिएको छ ।
मेला व्यवस्थापन समितिका अध्यक्ष ठाकुर पाण्डेले भैरवघाट मेला आयोजना गर्नुको उद्देश्य बताउँदै मेलाले यस क्षेत्रको विकासमा टेवा पु¥याउनुका साथै धार्मिक पर्यटक भित्राउने मूल उद्देश्य राखेर आयोजना गरिएको बताउनु भयो ।
यसैगरी स्थानीय दुर्गा ढकालले आफ्ना पूर्वजहरुले सन्तान प्राप्तिका लागि बालाचतुर्दशीकै दिन यहाँ भाकल गरेको र भाकल पूरा भएपछि यो क्षेत्रको प्रचार प्रसारका साथै २०४६ सालमा प्रजातन्त्र प्राप्तिपछि मन्दिर बनाएर त्यसयता बालाचतुर्दशी मेला हुँदै आएको बताउनु भयो ।



विगतका वर्षको तुलनामा यसवर्ष बिहानैदेखि भैरवघाटमा भक्तजनको भीड लागेको छ । भक्तजनलाई शतबीज छर्न, पूजाआजा र दर्शन गर्न सहज होस् भनेर स्वयंसेवकहरु समेत परिचालन गरिएको थियो ।
उता बाला चतुर्दशीको अवसरमा रुपन्देही, चितवन, नवलपरासी, कपिलवस्तु, पाल्पा, गुल्मी, मकवानपुर, काठमाडौं, कास्की, स्याङ्जा, पर्वत, बागलुङलगायत जिल्लामा समेत मेला लागेको थियो ।




