काठमाडौं । फोरके प्रविधिको नाममा सुरु भएको ग्यालेक्सी फोरके टिभी बन्द भएको छ । २२ महिनाअघि तत्कालीन सञ्चारकर्मी एवं हाल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अगुवाइमा सुरु भएको यो टिभी बन्द भएको हो ।
फोरके प्रविधिमा टेलिभिजन सुरु गर्दा ग्यालेक्सीले विशेष चर्चा पाएको थियो । अधिकांश च्यानल एचडी प्रविधिमा समेत अपग्रेड हुन नसकिरहेको अवस्थामा ग्यालेक्सीले फोरकेमा प्रसारण थालेको थियो । त्यस्तै टेलिभिजन घोषणा गर्दा क्राइम पेट्रोल नेपाल, को बन्छ करोडपति, रामायण, सारेगम, लाल मोहर, सिधा कुरा, आविष्कार लगायतका कार्यक्रम प्रसारण हुने बताइएको थियो ।तर टेलिभिजन सञ्चालनमा आएको दुई वर्ष नबित्दै ग्यालेक्सी फोरके बन्द हुन पुगेको छ । टिभीका मालिक गीतेन्द्र बहादुर राई ९जीबी राई० सहकारी ठगी प्रकरणमा फरार भएपछि टेलिभिजनले नियमित कार्यक्रम प्रसारण गर्न छोडेको छ ।



राईमाथि सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १६ अर्ब रुपैयाँ बढी रकम अपचलन गरेको आरोप छ । उक्त सहकारीका पूर्वअध्यक्ष र हालका संरक्षक रहेका राईले आकर्षक ब्याज दिने प्रलोभनमा सर्वसाधारण व्यक्तिहरूलाई सहकारीमा पैसा जम्मा गर्न लगाएर रकम हिनामिना गरेको भन्दै जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ । अदालतले भदौ २४ मा पक्राउ पुर्जी जारी गरेपनि हालसम्म उनी फरार छन् ।
राई सम्पर्कमा नआएपछि टेलिभिजनले ६ दिनयता नियमित कार्यक्रम प्रसारण बन्द गरेको छ । फेसबुक, युट्यब लगायत टिभीका टिभीका सामाजिक सञ्जाल अकाउन्टमा नयाँ अपडेट छैन । अहिले उक्त टिभीमा गीतमात्रै प्रसारण भइरहेको छ ।




