रुपन्देहीको कञ्चन गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत अपांगता भएका शिक्षक, विद्यालयका प्रधानाध्यापक तथा विषयगत प्रतिनिधिहरुका लागि एक दिवसीय समावेशी शिक्षा सम्वन्धि अन्तरक्रिया कार्यक्रम बुधार सम्पन्न भएको छ ।
नेपाल दृष्टिविहीन उत्थान संघ सैनामैना १० सालझण्डीको आयोजना र सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीको सहयोगमा कार्यक्रम भएको हो ।
कार्यक्रममा सम्बोधन गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले सवैको साझा प्रयास र प्रयत्नबाट कञ्चनको सर्वाङ्गिण विकास संभव हुने बताउँदै यहाँको शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास लगायतको क्षेत्रमा अव परिवर्तन आउने दृढता ब्यक्त गर्नुभयो । उहाँले कञ्चनमा बनेर तयार भएको श्रोत केन्द्र र त्यसको संचालन बुटवलदेखि पश्चिममा पहिलो रहेको बताउँदै धेरै पूर्वाधार बनेको र कञ्चनका जनप्रतिनिधिहरुले दु्रत गतिमा विकासको काम गर्दै गरेकोले कञ्चनको उपलब्धि देखिने गरी हुने विश्वास ब्यक्त गर्नुभयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै कञ्चन गाउँपालिकाका प्रवक्ता चित्रलाल तुलाचनले कञ्चनमा अपांगमैत्री विद्यालय धेरै रहेको बताउँदै कञ्चन गाउँपालिकाले समेत अपांगमैत्री विद्यालय निर्माणमा प्रोत्साहन गरिरहेको उल्लेख गर्नुभयो । उहाँले थोरै मेहनत र लगानीमा अपांगहरुलाई पढ्नका लागि ब्यवस्था गर्न सकिने भएकोले यो अभियानमा सवैको साथ र सहयोग आवश्यक रहेको बताउनु भयो ।



त्यसैगरी कञ्चनका सामुदायिक विद्यालयमा अध्ययन गर्ने अपांग भएका विद्यार्थीलाई शैक्षिक सामाग्री समेत बितरण गरिएको थियो । नेपाल दृष्टिविहीन उत्थान संघ सैनामैना १० सालझण्डीको सहयोगमा कञ्चनका २० जना विद्यार्थीलाई झोला, कापी र पेन्सिल लगायतका शैक्षिक सामाग्री वितरण गरिएको हो ।
कार्यक्रममा राष्ट्रिय अपांग महासंघ लुम्बिनी प्रदेश अध्यक्ष हुमनाथ अधिकारीले कञ्चन गाउँपालिकाले अपांगता भएकाहरुलाई सहयोग गर्दै आएको बताउँदै कञ्चनका सवै विद्यालयलाई अपांगमैत्री बनाउन सुझाव दिनुभएको थियो ।
कार्यक्रममा कञ्चन गाउँपालिकाकि उपाध्यक्ष मौसमी थापा मगर, प्रगति नमुना मा.बिका प्रधानाध्यापक गणेश पौडेल लगायतले बोल्नुभएको थियो । नेपाल दृष्टिविहीन उत्थान संघका उपाध्यक्ष सुनिल सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत श्रीधर भुसाल र संचालन गिता रेग्मीले गर्नुभएको थियो ।




