रुपन्देहीको कञ्चन गाउँपालिका ३ मा रहेको हरैया बहुमुखी क्याम्पसको गुणस्तर सुनिश्चितता प्रत्यायन (क्वीएए) सम्वन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
सामाजिक सम्वन्ध तथा सूचना ब्यवस्थापन इकाईको आयोजनामा भएको अभिमुखीकरण कार्यक्रममा बोल्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले कञ्चनमा रहेको एकमात्र क्याम्पस हरैया बहुमुखी क्याम्पसको गुणस्तर सुधारमा जोड दिनुपर्ने बताउदै क्याम्पससंगै कञ्चनका सवै विद्यालयको सुधार गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।




उहाँले यहाँ पढ्न आउने विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन सकियो भने मात्रै यहाँबाट उत्पादन हुने जनशक्ति राम्रो हुने भएकोले त्यसतर्फ ध्यान दिन क्याम्पस प्रशासनसंग आग्रह गर्नुभयो । उहाँले कञ्चनको शिक्षा सुधारका लागि विद्यार्थीलाई गुणस्तरीय शिक्षासंगै शिक्षकहरुलाई समेत बिषयगत तालिमको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा गाउँपालिकाका निर्वतमान अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले गाउँपालिकाले शिक्षा सुधारका धेरै कुराहरुको नेतृत्व लिन सक्ने भन्दै सतहमा मात्रै नभै गहिराईमा गएर अनुसन्धानका कुराहरुमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो । उहाँले शैक्षिक गुणस्तर बढाउँदै लैजान सकियो भने कञ्चन शिक्षाको जनशक्ति उत्पादनमा अग्रणी स्थानमा आउने विश्वास ब्यक्त गर्नुभयो ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष चुरामणि शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत क्याम्पस प्रमुख प्रकाश शर्माले गर्नुभएको थियो । कार्यक्रममा विश्वविद्यालय अनुदान विभागका उपनिर्देशक नारायणप्रसाद भण्डारीले प्रशिक्षण दिनुभएको थियो भने कञ्चन गाउँपालिकाका प्रवक्ता चित्रलाल तुलाचनले क्याम्पसलाई यस क्षेत्रकै राम्रो बनाउन सवैले सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको थियो । क्याम्पसका उपाध्यक्ष लेखनाथ पौडेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको संचालन क्याम्पसका कार्यालय सहायक कपिल पौडेलले गर्नुभएको थियो ।




