रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं ११ मा रहेको राजापानी सामुदायिक वन उपभोक्ता समूहको २१ औं बार्षिक साधारण सभा तथा अधिवेशन सोमबार सम्पन्न भएको छ ।
साधारण सभा तथा अधिबेशनको उदघाटन गर्दै जिल्ला डिभिजन बन कार्यालय रुपन्देहीका प्रमुख प्रभात सापकोटाले सरकारले करोडौं मूल्य पर्ने सरकारी बन समूहलाई जिम्मा दिएको बताउँदै समूहले पनि आफ्नो दायित्व सम्झेर बन पैदावार आपूर्ति गर्ने र त्यसबाट बचत भएको पैसाले गरिवी न्यूनिकरण लगायत वन उद्यम र स्थानीय विकासका काम गर्न बन ऐनले दिएको अधिकार अक्षरशः पालना गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा सैनामैना नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामप्रसाद भुसालले राजापानी सामुदायिक वनको सिमसार क्षेत्रलाई राष्ट्रिय गौरवको आयोजनको रुपमा विकास गर्ने लक्ष्य रहेको बताउनु भयो ।
त्यसैगरी कार्यक्रममा कञ्चन सब डिभिजन बन फायरलाईनका सहायक वन अधिकृत चन्द्रबहादुर रानाभाट, जर्लैया टोल विकास संस्थाका अध्यक्ष भुपाल मल्ल, बिचौवापुर टोल विकास संस्थाका अध्यक्ष मनिराम भुसाल लगायतले राजापानी सामुदायिक बनलाई यस क्षेत्रकै नमूना बन बनाउनुपर्ने आवश्यकतामा जोड दिनुभएको थियो ।




राजापानी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लालवहादुर सेनको अध्यक्षतामा भएको साधारण सभा तथा अधिवेशनको अवसरमा सैनामैना ११ मा मा रहेको महेरवादेवी आधारभूत विद्यालयमा अध्ययनरत २० जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई झोला, कापी, ट्रयाकसुट, टिसर्ट लगायता सामाग्र प्रदान गरिएको थियो । त्यसैगरी आगलागी नियन्त्रणमा उल्ल्ेखनीय कार्य गरेको भन्दै २८ जना उपभोक्तालाई सम्मान समेत गरिएको थियो ।
सोही अवसरमा स्थानीय विकासतर्फ छिटो छरिता काम गर्ने निर्माण उपभोक्ता समिति, घुम्ती कोषमार्फत ऋण लिएका असल ऋणीहरुलाई पनि कार्यक्रमको अवसरमा सम्मान गरिएको थियो ।




