नेपालको चार धाममध्येको एक रिडी रुरु क्षेत्र धाममा संक्रान्तिको विशेष मेला लागेको छ । पश्चिम नेपालकै प्रसिद्ध धार्मिक स्थलको रूपमा रहेको रुरुधाम क्षेत्र रिडीमा आज सोमबारदेखि विशेष मेला सुरु भएको हो ।
मेला भर्न आएका हजारौँ भक्तजनले पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रिडीस्थित कालीगण्डकी नदी किनारमा स्नान गर्ने प्रचलन छ । यस्तै, नदी तटमा रहेको ऋषिकेश मन्दिरमा पुगेर विशेष पूजा गर्ने भक्तजनको भीड बढेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परशुराम भट्टराईले जानकारी दिनुभयो ।
नेपाल र भारतका विभिन्न स्थानबाट आएका भक्तजनले पवित्र धाम रिडी क्षेत्र एकदिन अघिदेखि नै भरिभराउ बनेको उहाँले बताउनुभयो ।
रुरु धाम क्षेत्रको कालीगण्डकी नदीमा स्नान गर्नाले देव ऋण, पितृ ऋण, ऋषि ऋण तिरिने धार्मिक विश्वास छ ।



सोही अवसरमा श्रद्धालुहरूको भीड लाग्ने गर्दछ । रुरु क्षेत्र धार्मिक, पौराणिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले पनि निकै महत्त्वपूर्ण मानिन्छ । रिडी क्षेत्रमा प्राचीन समयमा देवदत्त ऋषिले तपस्या गरेको धार्मिक विश्वास रहेको अध्यक्ष भट्टराईले बताउनुभयो । रिडीसंगै तनहुँको देवघाटमा समेत भब्यरुपमा मेला आयोजना भएको छ ।




