रुपन्देहीको सैनामैनामा राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता तथा नगर खेलकुद सप्ताह २०८० विहिवारदेखि सुरु भएको छ । सैनामैना खेलकुद समितिको आयोजनामा सुरु भएको खेलकुद सप्ताहमा सैनामैनाका ३० वटा विद्यालयका गरि करिव २५ सय विद्यार्थीले सहभागिता जनाएका छन ।
राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता तथा खेलकुद सप्ताहको विहिवार सैनामैना ४ मुर्गियास्थित खेल मैदानमा उदघाटन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले जसरी नेपाललाई गौतमबुद्धको देश र सगरमाथाको देश भनेर विश्वमै चिनाउने गरिएको छ त्यसैगरि नेपाललाई खेलकुदकै माध्यमबाट चिनाउन यस प्रकारका खेल महोत्सवले सार्थक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।



उहाँले फुटवल र क्रिकेटमा नेपाली खेलाडीले देखाएको कौशलले नेपालको खेलकुद क्षेत्र सुनौलो किरणको रुपमा फैलिन थालेको र यो नेपालका लागि खुसीको कुरा भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा सैनामैना नगरपालिकाका निवर्तमान प्रमुख चित्रवहादुर कार्कीले राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता देशको महत्वपूर्ण खेल भएको उल्लेख गर्दै भोलीको नेपालका लागि व्यावसायीक खेलाडी उत्पादन गर्ने यो नर्सरीको रुपमा रहेको र खेलकुद सप्ताहलाई एउटा आधारको रुपमा लिनुपर्ने बताउनु भयो ।
त्यसैगरी कार्यक्रममा सैनामैना नगरपालिकाकी उपप्रमुख बिना राना, सैनामैना नगर शिक्षा समितिका सदस्य नेत्रलाल पुरी, पर्रोहा माध्यमिक विद्यालयका प्राचार्य बलबहादुर केसी, प्याब्सनका रुपन्देही जिल्ला अध्यक्ष अनन्तराम शर्मा लगायतले बोल्दै खेलकुद सप्ताहले सैनामैनाको खेल क्षेत्रको विकासमा योगदान पुग्ने बताउनु भएको थियो ।
सैनामैना नगर खेलकुद समितिका संयोजक खिम श्रेष्ठको सभापतित्वमा भएको उदघाटन समारोहमा स्वागत नगर खेलकुद समितिका सदस्य अर्जुन पोखरेलले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन नगर खेलकुद समितिका सचिव डिआर गैरेले गर्नुभएको थियो । त्यसैगरी मार्चपार्सको नतिजा नगरका प्राविधिक सहायक गणेश खनालले प्रस्तुत गर्नुभएको थियो ।
खेल सप्ताहमा फुटवल, भलिवल, क्रिकेट, कबड्डीकासाथै एथलेटिक्स, तेक्वान्दो प्रतियोगिता समावेश गरिएको छ । उदघाटनको अवसरमा भएको मार्चपासमा सैनामैना मावि प्रथम भएको छ भने कोटियादेवी मावि दोश्रो, पर्रोहा मावि तेश्रो र पशुपति मावि सान्त्वना भएका छन ।
यसैगरी प्रतियोगिता अन्तरगत कक्षा ९ देखि १२ अन्तरगत छात्रतर्फविहिवार भएको १५ सय मिटर दौडतर्फ पर्रोहा माविका विराज चौधरी प्रथम भएका छन। रामापुर माविका आकास पुन दोश्रो भएका छन भने मलमलादेवी माविका धर्मराज जैशी तेश्रो हुन सफल भएका छन ।
यसैगरी प्रतियोगिता अन्तरगत कक्षा ९ देखि १२ अन्तरगत छात्रातर्फ विहिवार भएको १५ सय मिटर दौडतर्फ पशुपति माविकी छात्रा सुष्मा सुनार प्रथम, रामापुर माविकी निशा मल्ल दोश्रो तथा जनकल्याण माविकी सन्ध्या परियार तेश्रो भएकी छिन । त्यसैगरी भलिवलतर्फ कक्षा ९ –१२ समूहमा सिद्धार्थ मेमोरियल र न्यू एकेडेमीबीच भएको खेलमा सिद्धार्थ मेमोरियल बिजयी भएको छ भने मलमलादेवी माबि र जनचेतना माविबीच भएको खेलमा जनचेतना मावि बिजयी भएको छ।




